चैत १८, काठमाडौं । लखनउ सुपर जायन्ट्सले पञ्जाब किंग्सलाई २१ रनले पराजित गरेको छ । शनिबार भएको खेलमा लखनउले दिएको २ सय रनको लक्ष्य पछ्याउने क्रममा पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७८ रन मात्र बनाउन सक्यो ।

ओनपनरद्वय कप्तान शिखर धिवन र जोनी बेयर्स्टोले पञ्जाबलाई उत्कृष्ट सुरुवात दिलाए पनि प्लेयर अफ द म्याच घोषित मयंक यादवले घातक बलिङ गर्दै पञ्जाबलाई जितबाट रोक्न सफल भए । कप्तान धवनले ५० बलमा ७० तथा लियाम लिभिङस्टोनले १७ बलमा २८ रन बनाएपनि टोलीलाई जितसम्म पुर्याउन सकेनन् । लखनउका लागि मोहसिन खानले पनि २ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ९९ रन बनाएको थियो । लखनउका लागि ओपनर क्विन्टन डी ककले सर्वाधिक ५४ रन, क्रुनाल पाण्ड्याले २२ बलमा ४३ रन तथा कप्तान निकोलस पुरनले २१ बलमा ४२ रनको विस्फोट इनिङ्स खेले । पञ्जाबका लागि साम करनले ३ तथा अर्शदीप सिंहले २ विकेट हात पारे ।