शब्दकोशलाई नियाल्ने होे भने— शहर, बजारदेखि बाहिरको ठाउँ, गाउँबस्ती, कछाडलाई काँठको संज्ञा दिइएको छ । भूगोलको दृष्टिले हेर्ने हो भने— जङ्गलको फेँद र बेसीको लेक, शहरले चियाउन सक्ने तर गाउँले पु¥याउन नसक्ने, भौतिक सुविधाले अँगालो मार्न नभ्याएको ज्ञातसम्म गराउन सकेको स्थान वा अवस्थालाई काँठको संज्ञा दिँदा केही फरक पर्दैन ।

रहनसहनको दृष्टिले हेर्ने हो भने— अझ भनौं दोस्रो प्रयोगकर्ताको रूपमा रहने अवस्थालाई काँठभन्दा हुन्छ । पहिला अर्को समूहले लिइसकेको स्वादमा दृष्टि दिएर जिब्रो तिखार्ने अवस्थालाई काँठभन्दा हुन्छ । प्रत्येक विषय राम्रो–राम्रो मिलाएर बनेको बस्तु उँट बनेझैँ सबैतिरका राम्रा–राम्रा भनिएका रीतिरिवाज रहनसहनलाई अँगाली जीवन जिउने समूहलाई काँठको संज्ञा दिँदा हुन्छजस्तो लाग्छ मलाई । बाहिरबाट हेर्दा अशोभनीय भए पनि उँटका आफ्नै विशेषताहरू लुकेका हुन्छन् । अरू प्राणी र वनस्पतिसमेतलाई धौधौ पर्ने मरुभूमिमा उसले सजिलै जीविकोपार्जन मात्र होइन, अरूलाई सेवासमेत दिन सक्दछ । त्यस्तै काँठले पनि आपूmले आफैलाई जे गरे पनि अरूका लागि पृथक् तथा सेवकीय भूमिका निभाएर जिइरहेको हुन्छ । दूरदराजको लागि शहर भएको छ भने शहरको लागि गाउँ । समाजमा सिक्न चाहनेका लागि पाठशाला अनि भोग्न चाहनेका लागि भोग्य समाज निर्माणमा काँठ अगाडि बढ्न सक्दछ । आजका दिनमा आइपुग्दा यहाँ सबै भूगोल र समाजलाई प्रतिनिधित्व गर्न सक्ने शक्तिको विकास भएको अनूभुति गर्न थालिएको छ ।
अन्नकै कुरा गर्ने हो भने तराईको समथर भूगोलले दिने धान, गहुँ अनि पहाडको भूगोलले दिने मकै, कोदो तथा उच्च पहाडले दिने फापरसमेत यस काँठले मानिसको लागि उपलब्ध गराउन सक्छ भने लवाइखवाइको कुरा गर्दा शहरले दिने पाश्चात्य नक्कलसमेत यसले देखाउन सक्छ । खुवाइमा भन्दा बढी लवाइ, हिँडाइ, डुलाइमा खर्च गर्ने समाज भनेकै वास्तवमा काँठ हो । यहाँका प्रत्येक नयाँ पुस्ता शहरलाई अङ्कमाल गर्न लालायित देखिन्छन् । दिन दुगुना रात चारगुनाका हिसाबले शहरिया भन्न रुचाउनेहरूका रहनसहन अपनाउन चाहनेको लाम लामै लाग्न थालेको आजको भोगाइ छ भने प्रत्येक मौजुदा पुस्ता बाबुबाजेको बिँडो थाम्ने भन्दै सनातनी संस्कार तथा रीतिरिवाजमा रमाउने खालको पनि छ । लवाइ, खवाइका साथ जीवन भोगाइमा समेत सनातनीको प्रत्यक्षतः प्रस्तुति हुने गर्दछ । अरू समाजमा केकस्तो स्वरूप देखिन्छ थाहा छैन तर यस समाजमा पुस्तान्तरणको खाडल छर्लङ्ग देख्न सकिन्छ । बाबु खेतमा काम गरेर अन्न उब्जाएर परिवार पाल्दथ्यो भने छोरा त्यही बाबुले छोडेर गएको जमिन पैसासँग साटेर परिवार पाल्न लालायित भएको देखिन्छ । थाहा छैन यो रफ्तार कहाँ पुगेर अन्त्य हुने हो ? लाग्दछ, अन्य क्षेत्रबाट परिवर्तनको चाहना नराख्ने हो भने छिटै सुकुम्बासीमा नाम दर्ता गर्न तँछाड मछाडको अवस्था सृजना हुन धेरै समय कुर्नुपर्दैन ।
साधारणतया जो जुन स्थानमा बसोबास गरेको हुन्छ, त्यहाँको बासिन्दालाई ‘ए’कार लगाएर बोलिने चलन प्रायशः रहेको पाइन्छ । तदनुरूप पाखामा बस्ने पाखे, गाउँमा बस्ने गाउँले, शहरमा बस्ने शहरिया वा सहरिए । काँठमा बस्नेलाई काँठे शब्दले सम्बोधन गरेको सुनिन्छ । चहलपहल प्रकृतिको आधारमा काँठमा बसोबास गर्ने काँठेलाई तीन भागमा विभाजनका साथ नामकरण भएको पनि पाइन्छ—
१. धोचेकाँठे (जङ्गलको नजिक बसोबास गर्ने), वा लठ्ठी टेकेर शहर ओहोरदोहोर गर्ने अर्थात् शहर ओहोरदोहोरमा थकान महसुस हुने वा शहर र गाउँको दूरी बढी भएको अवस्था ।
२. सुकाँठे (शहर धुमेर पनि दिसा पिसाब गर्न घरमा जान भ्याउने अर्थात् शहरको नजिक बसोबास गर्ने, सुधारिन खोजेको) अवस्था ।
३. पोकेकाँठे (न शहरको नजिक न जङ्गलको नजिक) मध्यभागमा बसोबास गर्ने अर्थात् दिउँसो खानको लागि पोको बोकेर शहर ओहोरदोहोर गर्ने अर्थात् शहर र गाउँको ओहोरदोहोरमा दिन पूरा लाग्ने अवस्था ।
भूगोल अवस्थित दूरीमा नै हाम्रो मुलुकको हावापानीसमेत फरक–फरक हुनेगर्दछ । त्यसैले बेँसी र गाउँमा पनि गर्मी र सर्दीको प्रतिशत फरक–फरक हुनु स्वाभाविकै हो । त्यसको रसास्वादन काँठले सजिलै गराउन सक्दछ । काँठका आफ्नै विशेषताहरू छन् । खोल्साखोल्सी र थुम्काथुम्कीयुक्त उठलपुठल भूभाग, विविध किसिमका सोतर सोर्न हुनेदेखि घर बनाउन उपयुक्त हुने खालका नरमदेखि कडासम्मका रुख–बिरुवा तथा वनस्पति एवं फलफुल र चराचुरुङ्गीहरूको सङ्गम स्थल, शारीरिक श्रम गर्न तयार रहन पर्ने तथा लवाइ–खुवाइमा व्यवस्थापन गर्न नभ्याउने जीवनशैली, सेवाभावको जीवनचर्या अर्थात् जमिनको कुतका नाममा शहरियाहरूको सेवामा समय तथा आम्दानीको हिस्सा बढी खर्च गर्नुपर्ने जीवनचर्या, एउटैको एकै स्थानमा चक्ला खेती नहुने कारणले गर्दा जीवन निर्वाहमुखी खेती तथा बस्तु पालनमा पनि थोरै उत्पादन हुने खालका सीमित पशुपालन, जुन निर्वाहमुखीभन्दा माथि जान नसक्ने आदिलाई काँठको विशेषताभन्दा हुन्छ ।
देखेभोगेको कुरामात्र गर्दै जाने हो भने पहिलो कुरा घरव्यवहार चलाउनलाई सजिलो हुने कल्पनाका साथ बस्ती विकास गरिएको स्थान काँठ होभन्दा अत्युक्ति नहोला । घर, घरमाथि बस्तुभाउलाई घाँसपात गर्ने रुखबिरुवा भएको जङ्गल वा चरन भएको स्थान । जहाँ बस्तुभाउलाई चराउने र बिहान बेलुकाका लागि खुवाउन घाँसपातको व्यवस्था गर्न सकिने अवस्था होस् । त्यसैगरी बस्ती विकास गरी घर बनाउनको लागि आवश्यक ढुङ्गा, काठको आपूर्ति सजिलैसँग हुने स्थानमा बस्ती विकास भएको देखिन्छ । खानेपानीको व्यवस्था खोल्साखोल्सीले दिने गर्दथ्यो । वैज्ञानिकताका हिसाबले हेर्ने हो भने अहिले देखिएको भौतिक विकासभन्दा सनातनी विकास दिगो र भरपर्दो हुने खालको देखिन्छ । आज प्रकृतिले स्थान अनुसार फरक–फरक बस्तु उपलव्ध गराएकोमा त्यसमाथि धावा बोल्दै बेमौसमी अन्न, बेमौसमी सागपात, बेमौसमी फलपूmलको उत्पादनमा समय, श्रमपूँजीको खर्च भइरहेको छ । त्यसै गरी भूगोलको कुरा गर्ने हो भने विपरीत स्थान र बनोटमा ध्यान गइरहेको छ । बस्ती विकासका कुरा गर्ने हो भने अन्न प्रशस्त उव्जनी हुने स्थानमा बस्ती रहेछ भने पनि त्यसलाई अन्यत्र सारेर कृषिकार्य गर्नु भन्ने सनातनी नीति रहेको पाइन्छ । यो राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको दिव्योपदेशमा समेत उल्लेख गरिएको विषय हो । बालीनाली कम भएर नागरिक भोकभोकै मर्नुभन्दा बस्तीलाई मलिलो जमिनबाट टाढा र मलिलो जमिनमा घना उन्नत उत्पादन गर्न सकेमा अनिकाल आदि खाद्यसङ्कटको सामना समाजले व्यहोर्न पर्दैन भन्ने छ । आज हेर्दा देखिन्छ— जहाँ समथर भूभाग अधिक छ, त्यहीँ जमिनलाई खण्डीकरण गरेर प्लटिङको नाममा कङ्क्रिटको थुप्रो पारिरहेका छन् । प्राकृतिक साधनको उपयोग गर्नेभन्दा कृत्रिम बस्तु कृत्रिम अवस्थामा प्रयोग गर्न सक्दा आपूmलाई उम्दा ठान्ने जमातको विकास क्रमशः हुँदै गइरहेको छ ।
पङ्क्तिारको सेरोफेरोकै सम्बन्धमा हेर्ने हो भने पनि आपूmले थाहा पाउँदा हजुरबाले बाह्र–चौधवटा गाईका माउबाच्छा चराउन जङ्गलमा लिएर जानुहुन्थ्यो । सँगसँगै यो बबुरो पनि पछि लागेर जान्थ्यो । तेस्रो पुस्तासँगको हिँडाइ अरूसँगको भन्दा अब्बल हुने गर्दछ । अनुभवको पेटारोले पनि भन्छ— माया र पानी माथि बग्दैन, त्यो प्राकृतिक रूपमा तल बग्ने बस्तु भएको हुनेले अधिक ममता र लाडप्यार पाएको अनुभवसमेत रहेको छ । बिहान घरबाट भात खाएर बस्तुभाउ फुकाएर नागार्जुन जङ्गलमा चराउन लैजाने चलन थियो । सानो बच्चा वेलामा प्रौढ वेलाको भन्दा बढी भोकप्यास लाग्नु स्वाभाविकै हो । त्यसको निवारणका लागि घरबाट खाद्यन्न लिएर जाने चलन अन्य कतै थियो भने थाहा छैन, हाम्रातिर चाहिँ अनुभव गर्न पाइएको थिएन । आजका बच्चाहरूलाई बाउआमाले के खान्छ ? कसरी खान्छ ? भन्दै पछिपछि लागेर खुवाउने गरेको देखिन्छ । यसरी बच्चाको पछिलागेर बसिरहने चलन हाम्रो काँठमा थिएन । अझ भनौँ त्यस्तो खाजाको व्यवस्था गर्न खाद्यान्न र परिकार बनाइरहने फुर्सदिलो जनशक्ति पनि थिएन भन्दा हुन्छ । घरका जहान सबै जना आ–आफ्नो कामका व्यस्त नरहे परिवार पाल्न धौ–धौ हुने, सीमित सदस्य त्यसमा पनि बलियोबाङ्गो बाहिर खेतिपातीको काममा वा भोट–मधेस गरेर कमाएर ल्याउनुपर्ने र अन्यले दैनिक घरवार बच्चाबच्ची बस्तुभाउ आदि सबैको हेरचाह गर्नुपर्ने बाध्यता भनौँ कि चलन ! जे भने पनि हाम्रा काँठमा थिए । आफुभन्दा अगाडिका व्यक्तिहरूले जङ्गलमा पातको खोचामा पानी, ऐसेलु (कालो, पहेँलो र रातो), काफल (भुइँ र रुख), कालिकाठ, खस्रेतो, जामुन, किप, सिङ्गटोलगायत मौसमअनुसारका फलहरू खुवाएर फकाउँदै बस्तुभाउ हेर्न लगाएको सम्झना अझै आउँदै छ । यस्ता अनेकन भोगाइका तरङ्गहरू आज पानीका फोकाका रूपमा रहेका छन्भन्दा हुन्छ ।
विश्वको इतिहासमा ध्वस्त भएको भौतिक संरचना र मानव सम्यतासमेत पचास वर्षमा अरूको लागि लालायित बनाउन सकिने उदाहरण एसियाली मुलुक दक्षिण कोरियाले देखाइसकेको छ भने हामीले आफ्ना भोगाइका तीतामीठा पानाहरूलाई पल्टाउनु अनौठो होइन । आफ्नोपनको विकासमा बिर्को लाग्न थाले पनि देखासिकी र आयातीत पनमा भने बढोत्तरी नै भएको महसुस गर्न अन्त कतै जानुपर्दैन । आफैलाई हेर्दा हुन्छ । त्यसैको एउटा पात्रको रूपमा यो पङ्क्तिकार नहिच्किचाइ भन्न सक्दछ— आफ्नै घरको अवस्था हेर्ने हो भने पनि आज बस्तुको नाममा मुसा र बिराला भए कुन्नि अरू चाहिँ रहेका छैनन् – यसलाई विकास भन्ने कि विनाश । त्यस्तै बारीमा बस्तुभाउलाई घाँसपात गर्न हिँड्दा छड्केले काटेको आजजस्तो लाग्छ । घाँस काट्दा काँटेको हातमा त आजसम्म खतै रहेको छ ।
प्रकृतिको नियम हो— एउटाको विकासको लागि अर्कोले बलिदान दिनुपर्छ । यो बलिदानीको विषय सबै क्षेत्रमा लागू हुन्छ, चाहे सामाजिक चाहे प्राकृतिक । समाजिकरूपमा बलिदानको कुरागर्ने हो भने समाज रूपान्तरणको शिलशिलामा सयौंले आपूmलाई बलिदान दिएपछि मात्र परिवर्तन भएको इतिहास नेपालदेखि विश्वसम्म देख्न सकिन्छ । यसलाई राजनीतिक, आर्थिक, लगायत समग्र समाजको बारेमा देख्न÷बुझ्नपर्ने हुन्छ भने प्रकृतिमा स्वतःस्पूmर्त रूपमा आएको परिवर्तनमा आपूmलाई ढाल्न नसक्ने जीवको पनि अस्तित्व समाप्तभागी छ । अर्कोतर्फ जलमै हुर्किने हृोल माछा फस्टाउनको लागि अन्य माछाको बलिदान अवश्यम्भावी छ । विश्वमा घट्दै गएको बाघको फैलावटका लागि मृगजस्तो घाँसपात खाएर हुर्कने जीवको बलिदान उल्लेख्य हुन्छ । त्यसैले होला, विशाल जन्तु डाइनोसर यो धर्तीबाट पलायन भयो । प्राकृतिक उतार–चढावविनाको विकासका कुरा गर्दा आध्यात्मिक चिन्तक प्रा.चेतनाथ शर्मा आफ्नो पुस्तक ‘अन्तरमनका भावतरङ्ग’को पृष्ठ ३०६ मा उद्धृत गर्नुहुन्छ— जीवनको भौतिक अंश सुलभ र साधारण तुल्याउनको लागि व्यष्टि र समष्टिगत सजगता एवं प्रयास आवश्यकता हुन्छ, तर यो प्रयासले सीमा उल्लङ्घन नगरोस् भन्नका लागि मर्यादाको बन्धनलाई पनि स्वीकार्नुपर्छ, यस किसिमको बन्धनको शृङ्खला धर्मले बाँध्छ । सनातनदेखि चलिआएको विषय जुन सकारात्क अर्थमा वैज्ञानिक देखिने गरी विकासलाई निकास दिन सकियो भने दिगो हुन्छ भन्ने अर्थमा विकास स्वीकार्नुपर्छ ।
यदि शहरको विकासलाई अगाडि बढाउने हो भने गाउँलाई मास्नै पर्दछ वा भनौँ शहरलाई स्वीकार गर्ने हो भने काँठ सकिनै पर्दछ । यसो भनिरहदा के सक्ने र के राख्ने भन्ने विषयमा चाहिँ बृहत छलफल र सच्चा निर्णय हुनु आवश्यक पर्दछ— भूगोलको बनोट सक्ने कि ? जमिनको उपभोगको प्रकृति सक्ने । मानिसको बोलीचाली सक्ने कि ? लवाइ–खवाइ, रहन–सहन सक्ने ? संस्कृति सक्ने कि ? सभ्यता सक्ने ?
भौगोलिक वातावरणको कुरा गर्दा— घाँस, स्याउला, रूख, बिरुवा मास्ने हो भने भिरालो स्थानमा भूक्षय हुन पुग्दछ । वातावरणमा अक्सिजनको कमीको कारणले कार्वन उत्सर्ग बढ्दै जान सक्दछ । जसले मानवलाई जिउन सजिलोभन्दा असजिलो पनामा तरङ्गित हुन बाध्य बनाउँदछ । भूगोलको बनोटलाई आफ्नो पनमा ढालेर उपभोग गर्दछु भन्न थाल्यो भने पानीको सतह तल जानेदेखि भूगोल आश्रित जलचर थलचरलाई असर पर्ने कारणले उनीहरूको गुणात्मक उपभोगमा कमी आई प्राकृतिक सन्तुलनमा उतार–चढाव हुने हुनाले जीवन धान्न धौधौ पर्ने अवस्था आउन सक्छ ।
मानिसहरूको बोलीचाली, लवाइ–खवाइ लगायत रहन–सहन सक्ने भनेर आयातीत बोलिचाली, लवाइखवाइमा प्रधानता दिन थालियो भने पूर्व र वर्तमानबीचमा ठूलो खाडल पर्ने हुन्छ, फलस्वरूप मातृत्व र भातृत्वमा ह्रास आई जीवन ऊर्जाशील नभई बोझिलो हुन पुग्दछ । यसरी क्रमशः सनातनदेखि चलिआएको विषयमाथि धावा बोल्दै जाने हो र काँठे संस्कृति नै सक्ने ध्येयका साथ अगाडि बढ्ने हो भने मानव सम्यता नै सकिन नि के बेर ! दानवीय प्रवृत्तिलाई अङ्कमाल गर्न आगाडि बढेपछि मानवीय प्रवृत्तिको अन्त्य त निश्चित नै छ ।
प्रकृतिमाथि अधिक धावा बोलेमा ऊ आपूm चुप लागेर बस्न सक्ने कुरै भएन । न्युटनको नियमले पनि भन्छ— प्रत्येक क्रियाको प्रतिक्रिया हुन्छ । त्यसैले प्रकृतिले आफ्नो बराबरीको फर्मुला लगाएर विकास भनिएको विषयलाई विनाशको शिकार दिलाउँदछ । हामीले हालै भोगिरहेका विविध उतार–चढाव विभिन्न किसिमको रोगव्याधी तथा दैवीप्रकोपलाई उदाहरण मान्न सकिन्छ ।
रामप्रसाद आचार्यको निवन्ध सङ्ग्रह कठै मेरो काँठ ! बाट साभार ।।