• २०८३ जेष्ठ ९ गते शनिवार

दक्षिणकालीमाताको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस

खबर24नेपाल पढ्न लाग्ने समय : ४ मिनेट

आज वि.सं. २०८० चैत्र १५ गते बिहीवार तदनुसार ई. सं. २०२४ मार्च २८ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य उत्तरायण, वसन्त ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४४, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८६०, हिजरी सं. १४४५, चन्द्रास्त : बिहान ०८:०७ बजे र चन्द्रोदय : बेलुका ०८:१३ बजे, सूर्योदय : बिहान ०६:०१ बजे र सूर्यास्त : साँझ ०६:१९ बजे, चैत्र कृष्णपक्ष (चिल्लागा) तृतीया तिथि, साँझ ०४:५२ बजेसम्म, त्यसपछि चतुर्थी तिथि, स्वाती नक्षत्र, साँझ ०४:५४ बजेसम्म, त्यसपछि विशाखा नक्षत्र, चन्द्रमा तुला राशिमा (अहोरात्र व्याप्त)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मनोरञ्जनात्मक क्रियाकलापमा संलग्न हुने तथा भोजन र परिकारको स्वादमा रमाउने दिन छ, तर पनि जीवनसाथीको इच्छा र रुचिलाई ध्यान दिनु ठीक हुन्छ । सुख/सुविधाप्रतिको मोह बढ्नेछ, मन कल्पना र भावनामा रुमल्लिन सक्छ । अल्छी नगरी पढाइमा ध्यान दिएमा राम्रो उपलब्धि पाइने छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
गल्ती र कमजोरीलाई माध्यम बनाएर प्रतिद्वन्द्वीले होच्याउने र खिसिट्युरी गर्ने परिस्थिति भएकाले काम गर्दा गल्ती हुन्छ कि भनी चनाखो हुनुपर्छ । प्रेमीको स्वास्थ्यस्थिति वा कार्यक्षेत्रमा समस्या उत्पन्न हुनाले मन निराश बन्नसक्छ, तर पनि मौका मिलाएर भावना साटासाट गर्न पाउँदा शान्तिको अनुभूति हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
पूर्वअनुभव र सीपप्रति आशावादी बन्ने दिन हो, कर्मप्रति समर्पित हुनुपर्छ, आइपर्ने विघ्नबाधा र अवरोधमाथि समेत नजर राख्न नबिर्सनु होला । छोराछोरीको क्रियाकलाप र उन्नति/प्रगति देखेर दंग पर्ने तथा सुखानुभूति हुने दिन हो । परिवारजनको सहमति जुट्नाले नचिताएको काम सम्पन्न गर्न सकिने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
खिसीट्युरी गर्ने वा प्रतिद्वन्द्वीहरूले अथवा राजनैतिक प्रतिपक्षले हानि पुर्याउने योजना बनाउन सक्छन्, त्यस्तै गोपनीयता बाहिरिनाले पनि समस्यामा पर्न सकिन्छ । तर आफ्नो समझदारीले हरेक समस्याको समाधान गर्न सकिनेछ । सिनियर कर्मचारीको आदेशलाई बेवास्ता गर्नु हुँदैन ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
नेटवर्किङको क्षेत्र वा सामाजिक सम्बन्धमा विस्तार हुनेछ । दृढ़ इच्छा शक्ति कायम राख्दा विपरीत परिस्थितिमा पनि विवेक गुम्दैन र समुचित काम बन्नेछ । कतिपय आर्थिक समस्या सञ्चारसम्पर्कबाट नै हल गर्न सकिने छ । सञ्चार क्षेत्र, वित्तीय कारोवार, यातायात, ढुवानी र मार्केटिङको व्यवसायमा विशेष लाभ देखिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
कामबाट फाइदा हुनेछ, रकम व्यवस्थापनका लागि गरिएका प्रयासहरू सफल हुनेछन्, तर नातागोता र करकुटुम्बका काममा खट्नुपर्दा कार्यक्षेत्रमा प्रभाव पर्नसक्छ । बडो आनन्द र उमङ्गका साथमा समय बित्नेछ । जीवनसाथीको पदप्रतिष्ठामा अभिबृद्धि हुनेछ र आम्दानीका मार्गहरू पनि बढ्ने सङ्केत छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आफूलाई ऊर्जावान् र जीवन्त महसुस गर्ने दिन हो । व्यक्तित्व निर्माणका साथै शारीरिक सुगठन र रूप संरचनातर्फ ध्यान केन्द्रित हुनसक्छ । आफ्नो इच्छानुरूप कार्य गर्न पाउँदा मन प्रसन्न रहनेछ । घरायसी र व्यवहारिक काममा खट्दासमेत फुर्ती जाग्न गई तन पनि स्वस्थ रहनेछ । मनमा अनावश्यक डर उत्पन्न हुने दिन हो ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
जुनसुकै काम सम्हाल्दा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ, अझ आर्थिक पक्ष हो भने सानातिना खर्चको पनि हेक्का राख्नु होला । मनमा दुविधा छ वा बढी थकान र बोझको अनुभूति भएको छ भने आराम गरेर तन्दुरुस्त हुनु जायज हुन्छ । हरेक क्रियाकलापमा आर्थिक पक्ष बाधक बन्ने दिन हो ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
दाजुभाइ र बन्धुबान्धवका बीचमा उन्नति/प्रगतिको चर्चा हुनेछ, तपाईंको परिश्रमको प्रशंसा हुने वा कमजोरीको विश्लेषण गर्दै सुझाव प्राप्त हुने समय छ । जुनियर स्टाफ वा सँगीसाथीको क्रियाकलापले तपाईंको चिन्ता बढ्नसक्छ, तथापि आफ्नो क्षमता र प्रतिभाअनुसार अवसर मिल्ने दिन हो, उन्नतिपथका हरेक विघ्नबाधा पन्छाउँदै एउटा छुट्टै पहिचान कायम राख्न सफल भइने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
व्यक्तित्व विकासका दृष्टिले राम्रो दिन छ, सकेसम्म आफ्नो कुरा एवं विचारलाई तर्कसङ्गत रूपले राख्न सकेमा पार्टनरले तपाईंको मनोभाव र विचारको कदर गर्नेछन् । मिहिनेत र कर्मठताले कामधन्धामा प्रगति र विकास हुनेछ । वरिष्ठ व्यक्तित्वसँग चिनजान हुने वा सम्बन्ध कायम हुने दिन छ । सामाजिक र राजनैतिक हैसियत निर्माणका दिशामा केही लगानी गर्नुपर्ने हुन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
रोमान्टिक जीवनभन्दा पनि यतिवेला घरपरिवार र अभिभावक महत्त्वपूणर् बन्नसक्छन्, भावनालाई नियन्त्रण गरी कुराकानी गर्ने र पार्टनरलाई फकाउने प्रयास गर्नुहोला । एक्लै घोरिरहन मन लाग्छ, व्यक्तित्वमा घमण्ड र अहङ्कारले प्रवेश गर्ने समय छ, तर आज संयम भएर अर्काका कुरा सुनेको राम्रो हुन्छ । इज्जत र प्रतिष्ठालाई दाउमा राखेर काम नगर्नुहोला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
परीक्षा र प्रतिस्पर्द्धामा सामेल हुने हो भने गोपनीयतामा जोड दिनुहोला, अनि एक्लै वा एकान्तमा बसेर तैयारी गरेको राम्रो हुन्छ । शरीरमा थकान र उत्साहमा कमी आउने समय छ, तथापि आफूलाई सक्दो प्रसन्न बनाउन प्रयास गर्नुपर्छ, किनभने आज आफ्ना लागिमात्र होइन, आफन्तका निमित्तसमेत तपाईंको दृढता र हौसला आवश्यक देखिन्छ ।

Sharing

प्रतिक्रिया दिनुहोस