• २०८३ असोज १३ गते मङ्गलवार

पौने चार करोडको कोकिनसहित ठमेलबाट विदेशी महिला पक्राउ

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १३, काठमाडौं । अवैध लागुऔषध कारोबार गर्ने अन्तर्राष्ट्रिय गिरोहका सदस्य १ के.जी १०१ ग्राम पौने चार करोड रुपैयाँ बराबरको लागुऔषध कोकिनसहित एक विदेशी महिला पक्राउ परेकी छिन्। कङ्गोलिज नागरिक ४९ वर्षीय एपुला इकुट्सु एमबोङ्गोलाई प्रहरीले १ किलो १०१ ग्राम लागुऔषध कोकिनसहित ठमेलबाट शुक्रबार पक्राउ गरेको हो।

लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार उनी लागुऔषध कारोबार गर्ने अन्तर्राष्ट्रिय गिरोहकी सदस्य हुन्। दुबईबाट काठमाडौं आएकी उनलाई काठमाडौं ठमेलस्थित एक होटलमा बसिरहेको अवस्थामा पक्राउ गरिएको कार्कीले बताए।

शंका लागेपछि प्रहरी महिलालाई विमानस्थलबाट पछ्याउँदै ठमेल पुगेको थियो। तलासी लिँदा उनको ह्याण्ड ब्यागभित्र प्लाष्टिकको झोलामा र्‍यापिङ गरिएका कोकिनका क्याप्सुलहरू बरामद भएको कार्कीले बताए।

बरामद कोकिनको अवैध बजार मूल्य करिब ३ करोड ८५ लाख रुपैयाँ हुन आउने प्रहरीले जनाएको छ। पक्राउ परेकी महिलालाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कारबाही थालिएको छ।

यो कारोबारमा संलग्न अन्य अन्तर्राष्ट्रिय गिरोहहरूको खोजी भइरहेको ब्युरोले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस