आज वि.सं. २०८० चैत्र १३ गते मङ्गलवार तदनुसार ई. सं. २०२४ मार्च २६ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य उत्तरायण, वसन्त ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४४, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८६०, हिजरी सं. १४४५, चन्द्रास्त : बिहान ०६:३७ बजे र चन्द्रोदय : साँझ ०६:४९ बजे, सूर्योदय : बिहान ०६:०३ बजे र सूर्यास्त : साँझ ०६:१८ बजे, चैत्र कृष्णपक्ष (चिल्लागा) प्रतिपदा/परेवा तिथि, दिउँसो ०२:०१ बजेसम्म, त्यसपछि द्वितीया तिथि, हस्ता नक्षत्र, दिउँसो १२:५६ बजेसम्म, त्यसपछि चित्रा नक्षत्र, चन्द्रमा कन्या राशिमा, मध्यरात्रीपछि ०२:०४ बजेसम्म, त्यसपछि तुला राशिमा

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
खेलकुद, उपहार सामाग्री, स्वास्थ्य र सरसफाइको व्यवसायमा राम्रै देखिन्छ, तर सँगीसाथी र साझेदारको क्रियाकलाप चित्तबुझ्दो नलाग्न सक्छ । घमण्ड र जिद्दीपना त्याग्नसकेमा तर्क र बहसमा विजय प्राप्त हुनेछ, खिसीट्युरी गर्नेसित सतर्क रहनुपर्छ, नत्र ठूलो कलहको वातावरण बन्नसक्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
शिक्षादीक्षाका क्षेत्रमा लागेका व्यक्तिले क्षमता प्रदर्शन गरी स्याबासी पाउन सक्ने दिन हो । सामान्य जनले समेत ज्ञानगुन, अध्यात्म र दार्शनिक विषयमा आकर्षण देखाउनेछन् । बौद्धिक र लेखनकार्यमा सफलता मिल्नेछ । बुद्धिको सही प्रयोग गर्नसके आफ्नो साख र इज्जत जोगाउन सकिने छ, प्रतिस्पर्द्धीहरू स्वयं कमजोर हुनाले आफैँलाई फाइदा हुने समय छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
कानून र प्रावधानलाई कडाइका साथ पालना गर्नुपर्छ । अधीनस्थहरूलाई बढी विश्वास गर्नुहुँदैन, बरु सहकर्मीका माझमा सद्भाव र समझदारी बढाउनु होला । हाँके/ताकेको कुनै काम रोक्नुपर्ने हुन्छ । नयाँ लगानीका लागि उपयुक्त समय होइन, बरु वातावरण र परिस्थितिमा केन्द्रित हुनुपर्ने समय हो ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
खेलकुद वा शारीरिक तन्दुरुस्तीसम्बन्धी विषयमा रुचि जाग्नेछ, नजानेको कुनै कुरा छ भने पनि मित्र र शुभचिन्तकको साथ/सहयोग प्राप्त हुनेछ । उत्कृष्ट खाना, रोमान्टिक पलहरू र इष्टमित्रको साथ नै आजको विशेषता हो भन्दा फरक पर्दैन, व्यक्तित्व विकास र करियर निर्माणको सही समय भएकाले उचित कार्ययोजनाका साथमा अघि बढ्नु जायज हुन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
एकआपसमा भेटघाट हुने र रमाउने वेला छ, तर बोल्दा निकै विचार पुर्याउनु होला, नत्र ससाना कुरामा पनि नोकझोक बढ्न सक्छ । आयको मार्ग सबल छ, तर बोली र व्यवहारमा निकै सतर्कता अपनाउने समय हो, कुरा काट्नेहरूले तपाईंको छिद्र खोतल्ने प्रयास गर्नेछन् । अठोट र निणर्यहरूमा सफलता मिल्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
मनमा शान्ति र मुहारमा कान्ति छाउने सन्तोषजनक समय छ । प्रियजनसँग भेटघाट हुनेछ अथवा आश मारेको वस्तु वा धन हात पार्न सकिने छ । नयाँ अनुभवका साथ कसरी अघि बढ्ने भन्ने चिन्तामा केन्द्रित भइने छ, हिसाबकिताबको लेखाजोखा र व्यवस्थापकीय जिम्मेबारीका लागि समय छुट्याउनु पर्ने हुन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
एकाग्रतामा कमी हुने भएकाले कुनै एउटा विषयमा मात्र ध्यान केन्द्रित गर्न सकिंदैन, हेर्दा बाहिरबाट सामान्य झैं देखिनु हुन्छ, तर भित्रबाट मँडारिएको भावनाको बेगलाई कसैले पनि बुझ्न सक्दैनन् । कठोर र क्रूर निणर्य लिनुपर्ने कमजोर समय छ, तथापि विवेकको प्रयोग गरेमा व्यक्तिगत साख कायम राख्न सफल भइने छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
जोखिम मोलेर गरेको कामबाट फाइदा हुनेछ, बुद्धि र विवेकको प्रयोग गरी विगतमा गुमाएका विषयवस्तुसमेत पुनः प्राप्त गर्न सकिने छ । पारिवारिक सुखमा अभिबृद्धि हुने तथा छोराछोरीबाट सन्तोष मिल्ने समय छ । ज्ञान वा अनुभवको प्रयोग गरी कुनै महत्त्वपूणर् विषयमा लाभ लिन सकिने छ । लक्ष्य प्राप्तिका निमित्त थप परिश्रम गरी लाभ पाउने समय हो ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
कामधन्दामा मज्जाले खट्नुपर्ने हुन्छ, जीवनसाथीले आफ्नो विवशता नबुझिदिंदा झन दिक्क लाग्नसक्छ, तर बृद्धबृद्धाको सद्भाव र सहानुभूति बटुल्न पाइने छ । मिहिनेतले भविष्य सुध्रनेछ, करियर र व्यवसायप्रतिको चासो बढ्नेछ, उच्च शिक्षाका छात्रछात्राले भावी कार्यक्षेत्रका बारेमा जानकारी बटुल्ने दिन हो ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
अचानक खुसी हुने कुनै समाचार सुन्न पाइने छ । कामविशेषले देश/परदेशको यात्रा हुने वा घर छाड्नुपर्ने परिस्थिति पनि बन्नसक्छ । त्यस्तो सुनौलो पल र समय बित्नेछ, जसले गर्दा प्रेमीप्रेमिकाको सामीप्य अझ नजिकिने तथा प्रेमसम्बन्ध गाढा बन्ने अनुकूलता मिल्नेछ । बौद्धिक र ज्ञानमूलक विषयमा रुचि बढ्ने एवं शुभचिन्तकहरूको साथ पाइने राम्रो दिन छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
पुराना समस्या बल्झिनाले वा कुनै गोप्य दस्ताबेज बाहिरिनाले तनाव बढ्नसक्ने दिन छ, त्यसैले सचेत र संयम भएर काम गर्नु ठीक हुन्छ । मनमा कुनै नवीन कार्य गर्ने भावना जागृत हुनेछ, तर आज त्यस्तो दिन हो, जसमा मनको कुरो मनैमा रहन सक्छ । अत्यास लाग्ने दिन छ, आफ्नै वा परिवारको कुनै स्वास्थ्यसम्बन्धी समस्याले पिरोल्न सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
रूपसौन्दर्य र गहनागुरियामा आकर्षण बढ्नेछ, सिर्जनात्मक काम गीतसङ्गीत, नृत्य/अभिनय वा कला र साहित्यका विषयमा रुचि जाग्ने समय हो । नयाँ साथी बनाउन पाइने तथा नौलो विषयको जानकारी बटुल्ने दिन हो, मित्रवर्ग र सँगीसाथीको सहयोगमा नजानेको कुनै विषयको ज्ञानसमेत पाउन सकिन्छ ।