फागुन १३, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले बालकुमारी घटनामा दोषी देखाइएका यातायात तथा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, लुम्बिनी विकास कोषको जग्गा लिजमा दिने संस्कृती पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीलाई तत्काल बर्खास्त गर्न माग गर्नुभएकाे छ ।

आइतबारको प्रतिनिधी सभाको आकस्मिक समयमा बोल्दै प्रमुख चेतक गिरीले प्रतिपिक्षी दलहरुले देशमा सुशासन कायम गर्न निरन्तर खबरदारी गरिरहेको भन्दै सरकार सुन्नका निम्ति तयार नरहेको बताउनुभयाे । उहाँले भन्नुभयाे,‘यो देशमा सुशासन कायम गर्नका लागि एमालेलगायत प्रतिपक्षी दलका नेताहरु संयमित भएर शिष्टतापूर्वक यो कुरा सदनमा उठाइरहेका छौं । तर, सरकार सुन्न तयार छैन् ।’ गिरीले प्रधानमन्त्रीले सिंगो सदनलाई जवाफ दिनुपर्ने भएपनि प्रधानमन्त्री भागेर हिंडिरहेको बताउनुभयाे । सरकारले प्रतिपक्षीहरुलाई उत्तेजित पार्न खोजेको आरोप लगाउँदै नैतिक पतन भएका मन्त्रीहरुलाई पदमा बस्ने अधिकार नभएको बताउनुभयाे ।
मिटरब्याजी पीडितहरु काठमाडौंको चिसोमा कठ्यांग्रिरहेको उल्लेख गर्दै प्रमुख सचेतक गिरीले गृहमन्त्री आफूले समाधान गरेको भन्ने अभिव्यक्ति मित्था भएको बताउनुभयाे । उहाँले अगाडी भन्नुभयाे, ‘२५ दिनदेखि कञ्चनपुर र झापाबाट आएका मिटरब्याज पीडितहरु हिँडेर काठमाडौंमा आएका छन् । यहाँ चिसोले थुप्रै मान्छेहरु बिरामी भएका छन् । हिजो रोस्टममा गृहमन्त्रीज्यूले सबै समस्या समाधान गरेजसरी संसदमा प्रस्तुत हुनुभयो । माइतीघरमा गएर कोणसभा गर्नुभयो । मंैले यो समस्या समाधान गरें भन्नुभयो । तर समस्या समाधान गरेको हो भने किन पीडितहरु काठमाडौं आए ।’
त्यस्तै, प्रमुख सचेतक गिरीले पशुपालन किसानले पालेका पशुहरुमा लम्पीस्किन, खोरेतलगायतका बिरामका कारण हजारौं पशु मर्दा किसानले क्षतिपुर्ति नपाएको समेत बताउनुभयाे ।