आज वि.सं. २०८० फाल्गुन १३ गते आइतवार तदनुसार ई. सं. २०२४ फेब्रुवरी २५ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४४, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८६०, हिजरी सं. १४४५, चन्द्रास्त : बिहान ०६:५९ बजे र चन्द्रोदय : साँझ ०६:२४ बजे, सूर्योदय : बिहान ०६:३६ बजे र सूर्यास्त : साँझ ०६:०० बजे, फाल्गुन कृष्णपक्ष (सिल्लागा) प्रतिपदा÷परेवा तिथि, बेलुका ०७:३२ बजेसम्म, त्यसपछि द्वितीया तिथि, पूर्वाफाल्गुनी नक्षत्र, मध्यरात्रीपछि १२:३६ बजेसम्म, त्यसपछि उत्तराफाल्गुनी नक्षत्र, चन्द्रमा सिंह राशिमा (अहोरात्र व्याप्त)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आज सफलताले प्रतीक्षा गरिरहेको दिन हो, त्यसैले सानातिना कुराहरूको बेवास्ता गर्दै ठूला र राम्रा काम बनाउने प्रयास गर्नुपर्छ । सानो प्रयत्नले हैसियतमा बृद्धि हुनेछ, क्षमता र बुद्धिको उपयोग गर्दा कारोबारले गति समात्न थाल्नेछ, साथै अड्किएका काम पनि पुनः प्रारम्भ हुनेछन् ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
घरपरिवारमा सँगै बस्नेले बाध्यात्मक काममा अलमलिने परिस्थिति देखिन्छ, यद्यपि उच्च शिक्षाका विद्यार्थी एवं वैदेशिक प्रयोजनको अध्ययन गर्नेले राम्रो परिणाम पाउनेछन् । कामधन्दालाई पर सारेर केही समय विश्राम लिनु र मुडफ्रेस गर्नु उचित हुन्छ । त्यस्तै आयस्रोत र पदप्रतिष्ठामा बृद्धि होस् भन्ने उद्देश्यले सुरक्षित आर्थिक गतिविधिमा ध्यान दिनु आवश्यक देखिन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
भावना र मनको कुरो सेयर गर्ने कुनै साथी छ भने ऊ तपाईंप्रति आकर्षित भएको हुनुपर्छ, अतः उसको निकटतालाई नगुमाउनु राम्रो हुन्छ । मन अत्यधिक उत्साही र फुर्तिलो रहनेछ । ससाना यात्रा सुखद र फलदायी हुनेछन् । घरपरिवारमा सम्पर्क राखी खैखबर बटुल्ने समय हो ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
कुरा काट्ने र खिसीट्युरी गर्नेको कमी हुनेछैन, चेलीबेटीको चित्त बुझाउन धौधौ हुनेछ, तर पनि घरपरिवारका सदस्यहरूसँग सुमधुर सम्बन्ध कायम हुनेछ । परीक्षा वा प्रतियोगिताका दृष्टिकोणले अनुकूल दिन छ । कुनै नौलो विषयको जानकारी लिएमा भविष्यमा राम्रो उपलब्धि लिन सकिने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
नयाँ जिम्मेबारी वा पदभार ग्रहण गर्ने दिन हो । सहकर्मीका माझमा क्रूर बन्नुको सट्टा व्यवहारिक बन्नसकेमा मात्र काम निकाल्न सकिने छ । आफ्नो इच्छानुरूप कार्य गर्न पाउँदा मन प्रसन्न रहनेछ । घरायसी र व्यवहारिक काममा खट्दासमेत फुर्ती जाग्न गई तन पनि स्वस्थ रहनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
कार्यक्षेत्रमा व्यस्त रहनाले आपसी समन्वय र भेटघाटको असहजता हुने तथा मन पिरोलिने दिन हो, अझ साँझपख मन हतास र भावुक बन्नसक्छ । उच्चकोटिको प्रेम भावनाको उदय हुने दिन हो, जीवनसाथी वा प्रेमी÷प्रेमिकासँग निकटता बढ्नेछ । सुखसुविधाका सामाग्री वा कुनै यन्त्र÷उपकरण आदि किनमेल गर्न धन खर्च हुनसक्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
कमीकमजोरी र असफलताहरू पन्छाउँदै क्षमताअनुरूप परिश्रम गर्नुहोस्, लक्ष्यप्रति केन्द्रित भएर लागी परेमा ठूलो सफलता पाउने दिन हो । व्यक्तित्व विकास तथा भौतिक सुखसुविधा जुटाउने सिलसिलामा नयाँ विचार र भावनाको उदय हुनसक्छ, लक्ष्यप्रति गम्भीर भएमा हरेक काममा सफलता मिल्नेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
फुर्सद निकालेर घरपरिवार सम्पर्क गर्ने वा फोनमै भए पनि विचार÷विमर्श गर्ने दिन हो । नवीन रोजगारी वा व्यापारको योजना छ भने काम थाल्नु उचित हुन्छ । कारोबारबाट राम्रै फाइदा हुने दिन छ, फलाम, कोइला, पेट्रोलियम पदार्थ आदि नै तपाईंको व्यापार हो भने अझ राम्रो प्रतिफल पाइने छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
जग्गाजमिन, ढुवानी, निर्माण सामाग्री आदि व्यवसाय छ भने राम्रो हुन्छ । आज कारोबारका अतिरिक्त धार्मिक÷पारम्परिक काममा पनि संलग्न हुन सक्नुहुन्छ । फूर्तिका साथ जिम्मेबारी र दायित्व पूरा गर्ने दिन हो, सहयोगी र मिलनसार स्वभावको विकास हुनेछ । मान्यजनबाट प्रशंसा र सहानुभूति बटुल्न सक्नुहुन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
स्वास्थ्यस्थिति कमजोर हुने दिन हो । खानपानमा पनि अरुचि हुनसक्छ । आफ्ना कुरा छाडी आफन्त र खासगरी जीवनसाथीको भावना बुझिदिनु, कुरा सुन्नु अनि आफू व्यवहारिक बन्नु राम्रो हुनेछ । गोपनीयता बाहिरिनाले वा विगतको सानो कमजोरीले तनाव बढ्ने तथा मनमा अनावश्यक भय र त्रास सिर्जना हुने कमजोर समय छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
पुराना साथीभाइसँग भेटघाटको कार्यक्रम बन्नसक्छ । निजी वा आन्तरिक सम्बन्धलाई उजागर गरी सार्वजनिक तुल्याउने यो सही समय हो । आज घरपरिवारका भावना र इच्छाहरूको ख्याल राख्नु ठीक हुन्छ । कार्यक्षेत्रमा सफल हुने दिन हो, तर आफ्नो काममा मात्र एकोहोरिनुभन्दा पनि जीवनसाथी वा परिवारका सदस्यहरूको इच्छा बुझेर काम गर्ने दिन हो ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
खेलकुद, उपहार सामाग्री, स्वास्थ्य र सरसफाइको व्यवसायमा राम्रै देखिन्छ, तर सँगीसाथी र साझेदारको क्रियाकलाप चित्तबुझ्दो नलाग्न सक्छ । घमण्ड र क्रोधमा बृद्धि हुनसक्छ, तर पनि व्यक्तिगत कार्य र पारिवारिक जिम्मेबारीका बीच तालमेल मिलाउन सकेमा विवाद एवं अपजसबाट बच्न सकिन्छ ।