चैत ११, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होलीपर्व)ले आपसी सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउनेमा विश्वास व्यक्त गर्नुभएको छ । होलीपर्वका अवसरमा राष्ट्रपति पौडेलले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै रङहरूको पर्व होलीले आपसी मेलमिलाप र सद्भावको सन्देश दिने उल्लेख गर्नुभयो ।

उहाँले यस पर्वले आपसी रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउनेमा विश्वास व्यक्त गर्नुभएको छ । नेपालीहरूको महान् पर्व फागुपूर्णिमा (होली)को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु”, राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा भन्नुभएको छ।
फागुपूर्णिमा (होली) पर्व, २०८० को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले दिनुभएकाे शुभकामना सन्देश : नेपालीहरूको महान् पर्व फागुपूर्णिमा (होली)को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।
विभिन्न रङ्गीचङ्गी कपडाले सजिएको चीर ठड्याएपछि प्रारम्भ हुने होली पर्व पूर्णिमाको रात्री चीर दाह गरेपछि समापन हुन्छ । रङ्गहरूको पर्वको रूपमा प्रत्येक वर्ष आपसी मेलमिलाप र सद्भावको सन्देश दिने फागुपूर्णिमा (होली) पर्व हिमाली, पहाडी तथा भित्री मधेश, काठमाडौं उपत्यका तथा तराईका जिल्लाहरूमा विभिन्न रङ र अबिर खेल्दै खुशियालीसाथ मनाउने परम्परा रहेको छ । होलीमा खेलिने विविध रङ्गहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रुपमा विविधतापूर्ण रहेकोछ । यही विविधता बीचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता पनि हो ।
होली पर्व असत्यमाथि सत्यको, अन्याय माथि न्यायको, दूराचार माथि सदाचारको र अधर्म माथि धर्मको विजय भएको खुशियालीमा मनाइने हुँदा समस्त नेपालीहरूबीच रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वास मैले लिएको छु ।
अन्त्यमा, यस पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिहरूलाई निर्मूल गर्दै मौलिक संस्कृतिहरूको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
