• २०८३ बैशाख १६ गते बुधवार

यू–१९ विश्वकपमा नेपाल न्युजिल्यान्डसँग पराजित

खबर24नेपाल पढ्न लाग्ने समय : २ मिनेट

माघ ७, काठमाडौं । नेपाल आइसीसी यू–१९ विश्वकपमा पहिलो पटक न्युजिल्यान्डसँग पराजित भएको छ । दक्षिण अफ्रिकामा जारी आइसिसी यू१९ विश्वकपमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको हो ।

जितको लागि ३०३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले पुरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २ सय ३८ रन बनायो । नेपालका ओपनर अर्जुन कुमालले १०४ बलमा १२ चौकासहित ९० रन एक सानदार इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् । तेस्रो विकेटका लागि देव र अर्जुन कुमालले ६२ बलमा ५९ रनको साझेदारी गरेका थिए । देव खनाल ३४ बलमा ५ चौका र १ छक्कासहित ३६ रनमा आउट भए ।

अन्य कुनैपनि नेपाली ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । आकाश त्रिपाठी र गुलशन झा २–२ रनमा आउट भए । उत्तम थापामगर, दीपक बोहरा, दीपेश कँडेलले खाता खोल्न सकेनन् । अन्तिम विकेटका लागि तिलकराज भण्डारी र सुवास भण्डारीले ३७ रनको अविजित साझेदारी गरे । सुवास भण्डारी ५२ बलमा ४ चौकासहित ३३ रनमा नट आउट रहे । तिलक भण्डारी १९ बलमा २ चौका र १ छक्कासहित १७ रनमा नट आउट रहे ।

न्युजिल्यान्डका मासन क्लार्कले ८ ओभरमा १ मेडनसहित २५ रन खर्चेर ३ विकेट लिए । एवाल्ड श्रेडर र ओस्कर ज्याक्सनले २(२ विकेट लिए ।

त्यसअघि दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०२ रन बनाएको थियो ।

न्युजिल्यान्डको जितमा तेस्रो नम्बरका ब्याटर स्नेहित रेड्डीले १२५ बलमा ११ चौका र ६ छक्कासहित १४७ रनको सानदार अविजित शतकीय इनिङ खेलेका थिए । कप्तान ओस्कर ज्याक्सनले ८१ बलमा ३ चौका र ५ छक्कासहित ७५ रनमा आउट भए ।

नेपालका प्रमुख बलर गुल्शन झाले १० ओभरमा ६१ रन खर्चेर २ विकेट लिए । स्पिनर सुवास भण्डारीले १० ओभरमा ६० रन खर्चेर सर्वाधिक ३ विकेट लिए । तिलक भण्डारी, आकाश त्रिपाठी र दीपेश कँडेलले १/१ विकेट लिए ।

Sharing

प्रतिक्रिया दिनुहोस