माघ ७, काठमाडौं । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई १३ रनले हराएको छ । लगातार तेस्रो जितसँगै पुलिस अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।

जितको लागि १४१ रनको विजयी लक्ष्य पछ्याएको आर्मी ३२.२ ओभरमा १२७ रनमा अल आउट भयो । आर्मीका भीम सार्कीले ७६ बलमा ६ चौकासहित सर्वाधिक ५२ बनाए । कुशल मल्ल ४८ बलमा ३ चौका र २ छक्कासहित ३५ रनमा आउट भए ।
एक समय ३–३ को अवस्थामा पुगेको आर्मीलाई भीम र कुशलले चौथो विकेटका लागि ८९ रनको महत्वपूर्ण साझेदारी गर्दै जितको आधार बलियो बनाएका थिए । तर दीपेन्द्रले कुशल मल्ललाई बोल्ड आउट गरेपछि पुलिसले खेलमा सानदार पुनरागमन गरेको थियो । त्यसपछि विनोद भण्डारी १९, बसिर अहमद डक, विवेक यादव २ रनमा आउट भए ।
पुलिसका दुई स्पिनर सागर ढकाल र ललित नारायण राजवंशीले ३-३ विकेट लिए । राशिद खानले २ र दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए ।
सिद्धार्थ रंगशाला भैरहवामा हुस्सुका कारण समयमै खेल सुरु हुन नसक्दा ३३–३३ ओभरमा झारिएको थियो । पुलिस टस हारेर पहिला ब्याटिङको निम्तो पाउँदै ३१.४ ओभरमा १४० रनमा अल आउट भएको थियो । पुलिसको जितमा ओपनर सुनिल धमलाले ८० बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ५२ रनको योगदान दिए ।
ओपनर कुशल भुर्तेल शून्य, अर्जुन साउद १०, आरिफ शेख १८, दीपेन्द्रसिंह ऐरी र राशिद खानले १३–१३ रन बनाए । आर्मीका सोमपाल कामीले ६ ओभरमा ३ मेडनसहित १२ रन खर्चेर ४ विकेट लिए । साहब आलम र विवेक यादवले २–२ विकेट लिए ।