असोज ४, काठमाडौं । मदन भण्डारी फाउन्डेसनले आफ्नो २५ औँ स्थापना दिवस तथा रजत जयन्ती असोज ५ गते स्टाफ कलेज जाउलाखेलमा १ः ३० बजे मनाउने तयारी गरेको छ । फाउण्डेशनको रजत जयन्ती समारोहमा फाउण्डेशनको २५ बर्षे इतिहासलाई प्रकाशनको माध्यमबाटसमेत जानकारी गराउन खोजिएको फाउन्डेसनका अध्यक्ष महेन्द्र बहादुर पाण्डेले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।
फाउन्डेसनले रजत जयन्तीका अवशरमा ‘मिडियामा मदन भण्डारी’ नामक पुस्तकको विमोचनसमेत गर्ने तयारी भइरहेको अध्यक्ष पाण्डेले बताउनुभयो । ‘जवजः नविन विचारको निरन्तरता’ भन्ने मूल नाराका साथ फाउन्डेसनले रजत जयन्तीको भव्य तयारी गरिरहेको उहाँले बताउनुभयो । यस वर्षको ‘मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार २०८०’ बाट जनगायक रामकृष्ण दुवाल सम्मानित हुने हुनुभएको छ । मदन भण्डारी फाउन्डेसनले प्रत्येक वर्ष प्रदान गर्दै आइरहेको यो पुरस्कार यस वर्ष दुवाललाई प्रदान गर्न लागिएको फाउन्डेसनले जनाएको छ । १ लाख रुपैयाँ नगदसहित सम्मान गरिने यो पुरस्कार दुवालले पाँच दशकदेखि नेपाली प्रगतिशील संस्कृतिका माध्यमबाट समाजलाई पु¥याउनु भएको योगदान स्वरूप प्रदान गर्न लागिएको फाउन्डेसनका अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा फाउन्डेसनका सचिव सन्तोष रावल र सचिवालय सदस्य शुशिल प्याकुरेल संञ्चारकर्मीको जिज्ञासाको उत्तर दिनुभएको थियो ।


