रहर बोकि शहर आएँ
ठुला घरमा बस्न पाएँ ।।
थोत्रा मैला पोका फुकाएँ
गाँउको गन्हाउने पसिना लुकाएँ ।।
दुई-चार छाक मीठो खाएँ
नयाँ पुराना कपडा पाएँ ।।
अहो! कति माया गर्ने
मालिकका गित गाएँ ।।
दिनहरु बित्दै गए
तिता-मिठा गफसफ भए ।।
हस् हजुर भन्दा भन्दै
वाचाहरु सर्दै गए ।।
पढ्न भनी झोला बोकि
धाउन थालेँ ‘सरकारिमा’ ।।
तिनले पाउने लाजगालले
धाउने रहेछु आखिरिमा ।।
आवाज आयो कोठाबाट
पढ्न होकि पकाउन ।।
आज नजा ‘पार्टी’ छ घरमा
भन्दै लागे फकाउन ।।
‘सज्जा देखि लज्जा’ सम्म
झिकी लुगा दिए धुन ।।
अर्को अर्डर आयो फेरि
झ्याल ढोका सबै पुछ्न ।।
टाउको हल्लाई हवस् नभन्दै
छिटो-छिटो भन्न थाले ।।
छचल्किएका मेरा आँसु
परेलिले रोक्न थाले ।।
खाजा बोकि साना मालिकका
लागेँ म ‘बोर्डिङ्ग’तिर ।।
‘आफू भोक्कै पेट भोक्कै’
छैन फुर्सद बोक्ने पिर ।।
नत स्कुल नत आराम
दिन बिते पेट भोक्कै ।।
भने जति मान्नै पर्यो
नत्र भरे पिटाई पक्कै ।।
दिनभरीको काम सकेँ
सोचेँ अब फुर्सद पाएँ ।।
बुलावा आयो, अहो! अचम्म
भरे लाउने नयाँ पाएँ ।।
‘धन्ना सकि तयार हुनु’
हँसाई मीठो मालिक्निको ।।
गयौं बजार, किन्यौं सामान
गर्हौ झोला पलास्टिकको ।।
प्यासा रैछन् पाहुना सबै
पिउन थाले प्याला भरी ।।
दिल खोलेर नाचे कोहि
कोहि बान्ता घरी-घरी ।।
नाक थुनेर पुछ्दै थिएँ
मुखद्वारका तिनका दिशा ।।
आफ्नै घरको व्यथा सम्झि
लुकि पिएँ मैले नशा ।।
स्कुल छाडी जान्थेँ मेला
बाबू आमा दुबै पिउने ।।
चोरोट, खैनी, रक्सी पिई
आफ्नो लागि मात्रै जिउने ।।
केहो चाड-पर्व मलाई
केहो बाउ-आमाको मायाँ ।।
छिमेकिलाई हेरि-हेरि
ताप्न खोज्थेँ शितल छायाँ ।।
घोचिपेची साथी-सङ्गी
हाँसी-हाँसी दिन्थे ताना ।।
कस्ले पुछ्ने मेरा आँसु
पीडा माथी ‘चुहिने छाना’ ।।
रङ्गी-चङ्गी शहरका
कथा कहिँ कतै सुनेँ ।।
निर्णय लिई सुस्केरामा
मध्य रातमा भागी हिँडे ।।
आँसु बोकि दोधारको
गर्न थालेँ कामको खोजी ।।
माझें भाँडा होटेलमा
पाईन काम राम्रो दामको ।।
टाउको माथी चस्मा भिर्ने
तिनले दिईन् फोनको नम्बर ।।
घर छोडेर भागेकि म
भाग्न फेरि कसेँ कम्मर ।।
क्रमशः