असार ६, काठमाडाैं । पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले चढाएको भेटी दुरुपयोग गरेको आरोपमा काठमाडौं जिल्ला अदालतले पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।अदालतले अर्का एक जनासँग तीन लाख रुपैयाँ धरौटी लिएर छाड्ने आदेश दिएको छ। न्यायाधीश कपिलमणि गौतमको एकल इजलासले सो आदेश दिएको हो।

अदालतका प्रवक्ता मेलिस बास्कोटाका अनुसार भेटी दुरुपयोग प्रकरणमा संलग्न पशुपति क्षेत्र विकास कोषका नायब सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मण नवराज घिमिरेसहित सञ्जय कपाली, कुमार दमाई र अनिल परियारलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो।
सत्यनारायण जोशीसँग भने अदालतले ३ लाख रुपैयाँ धरौटी माग गरेको छ। जिल्ला सरकारी वकिलको कार्यालयले ६ जना विरुद्ध २ करोड ३० लाख १० हजार रुपैयाँ बिगो माग दाबी गरेर मुद्दा दायर गरेको हो।