आज वि.सं. २०८१ पौष ०३ गते बुधवार तदनुसार ई. सं. २०२४ डिसेम्बर १८ तारिख, कालयुक्त नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कलिगत ५१२५, शाके १९४६, नेपाल सं. ११४५, किरातवर्ष ५०८४, मञ्जुश्री वर्ष २८६०, हिजरी सं. १४४६, चन्द्रास्त : बिहान ०८:४५ बजे र चन्द्रोदय : बेलुका ०७:३५ बजे, सूर्योदय : बिहान ०६:५० बजे र सूर्यास्त : साँझ ०५:१० बजे, पौष कृष्णपक्ष (थिल्लागा) तृतीया तिथि, दिउँसो १२:०३ बजेसम्म, त्यसपछि चतुर्थी तिथि, पुष्य (तिष्य) नक्षत्र, भोलि बिहान ०३:३७ बजेसम्म, त्यसपछि अश्लेषा नक्षत्र, चन्द्रमा कर्कट राशिमा (अहोरात्र व्याप्त)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
कार्यालयीय काममा खासै परिश्रम गर्नु पर्दैन, तर आज घरपरिवारका सदस्य, नातागोता वा आफन्तको भावनालाई समेट्न सकेमा मात्र थप सन्तुष्टि मिल्नेछ । शङ्कालु बानी र विश्वासको कमीले आपसी समन्वय कमजोर बन्नसक्छ । भावनाप्रधान दिन हो, सकेसम्म एकअर्काप्रति समर्पित हुनु बुद्धिमानी हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
कार्ययोजना र व्यवस्थापन पक्षमा समन्वय गरी अघि बढ्दा थप लाभ हुनेछ, अर्काको जिम्मामा काम छाडेर अन्त भुलिने हुँदा काम बिग्रन सक्छ । माइतीपक्ष वा दिदीबहिनीका बारेमा कुनै शुभ समाचार प्राप्त हुनेछ । धार्मिक प्रयोजनको काम वा सामाजिक क्रियाकलापमा पनि दौडधूप गर्नुपर्ने दिन हो ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
अचानक कुनै मित्रसँग भेटघाट हुने अथवा कुनै नयाँ अवसरको उपयोग गर्ने दिन हो, प्रभावशाली कुराकानीका माध्यमबाट तपाईंले आफ्नो अन्तर्वार्ता, प्रजेन्टेसन, र बैठकहरूमा अरुमाथि राम्रो छाप छोड्न सक्नुहुन्छ । उपहार वा धन प्राप्त हुने दिन हो, त्यस्तै सिनियर कर्मचारी वा हाकिमसमेत खुसी हुनेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
प्रत्येक काममा बाधा आउने र ढिलो हुने सम्भावना छ । कहिलेकाँही असुरक्षाको हीनभावना विकसित हुनसक्छ । कामको बोझ बढ्नेछ । उधारोमा गएको धन वा ऋणकारोबार मुख्य विषय बन्नसक्छ, यद्यपि चिकित्सा क्षेत्र, औषधी, काष्ठ, फर्निचर आदि कारोबार छ भने प्रशस्त लाभ पाउन सक्नुहुन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मनको हठ र कुण्ठामा भुलिने समय छ, तर पढाइ छाडेर अन्त भुलिनु भविष्य बिगार्ने कुरा हो भन्ने हेक्का राख्नुपर्छ । खर्चको मात्रामा अचानक बृद्धि हुनसक्छ, अझ नजिकैको आफन्त वा मनमिल्ने साथीसँगको साझेदारीमा कुनै कारोबार गर्नुछ भने आज सावधानीपूर्वक कदम चाल्नु आवश्यक देखिन्छ, अन्यथा आर्थिक क्षति हुने दिन हो ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
नयाँ योजना कार्यान्वयन गर्ने दिन हो, दीर्घ प्रयोजनको लाभमूलक काम अघि सार्ने हो भने योजना बनाउने, साझेदार र मतियारका बीचमा छलफल गर्ने र प्रशासनिक तौरतरिका बुझ्ने समय आएको छ । शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ । आँट र हिम्मतले काम लिन सकेमा मनग्ये फाइदा हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
कारोबारमा राम्रै प्रतिफल प्राप्त हुनेछ, कुनै नयाँ प्रस्ताव वा योजना छ भने साझेदार र प्रतिस्पर्द्धीसँग अन्तक्र्रिया गरी अनुभव बटुल्नु महत्त्वपूणर् मानिन्छ । दाम्पत्य जीवन सुखमय नै रहनेछ, तर थप जिम्मेबारी र दायित्व बढ्ने समय छ, घरपरिवारभित्रकै वा आफन्तको काममा अलि बढी खट्नुपर्ने दिन हो ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
अचानक परिस्थिति फेरिएर इच्छाएको जिम्मेबारी प्राप्त हुनेछ । वैकल्पिक आम्दानीका निमित्त कुनै नयाँ कारोबारप्रति आकर्षण देखाएमा समेत लाभ पाउन सकिने छ । शरीर हलुका र मन प्रसन्न रहनेछ, लामो समयदेखि एकान्तमा बसेर भलाकुसारी भएको छैन भने अब निराश हुनुपर्दैन, भेटघाटको अनुकूलता मिल्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
पार्टनरको चासो र चिन्तामा मात्र केन्द्रित हुने समय होइन, केही समय आफ्नो मनको खुसी र सुस्वास्थ्यका निम्ति छुट्याएको राम्रो हुन्छ । कुनै महत्त्वपूणर् चिजबिज हराउने वा नाश हुने खतरा छ । सिनियर स्टाफ, हाकिम वा गुरुजनसँगको सम्बन्धमा नकारात्मकता देखिने छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आन्तरिक तिर्सनाको परिपूर्ति हुने दिन हो । पतिपत्नीका बीचमा समझदारी बढ्नेछ । आज कुनै भनुँ भनुँ लागेको कुरा बताउने दिन हो । जागरुकता र इच्छा बढ्ने समय हो, तपाईं कला वा अभिनय क्षेत्रको शिक्षार्थी हो भने सोचेको कुरा लिपिबद्ध गर्नुहोला, भविष्यमा काम दिनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
घमण्ड र क्रोधमा बृद्धि हुनसक्छ, तर पनि व्यक्तिगत कार्य र पारिवारिक जिम्मेबारीका बीच तालमेल मिलाउन सकेमा विवाद एवं अपजसबाट बच्न सकिन्छ । आइपरेका चुनौती र परीक्षाहरूमा खरो उत्रेर अघि बढ्ने समय हो, आजको दिनअध्ययनप्रति मात्र होइन, स्वास्थ्यस्थिति एवं आहार/विहारप्रति पनि ध्यान दिनु ठीक हुन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मनको कुरो साथीले बुझिदिंदा आपसी सम्बन्धमा विश्वास र भरोसाको वातावरण बन्नेछ, एकान्तमा रमाउँदै भावना आदानप्रदान हुने समय हो । सोच्ने सामर्थ्यमा कमी भएको आभास हुनेछ, एकान्तमा मात्र मन रमाउने दिन हो, तर आज सामाजिकता र सहकार्यमा ध्यान दिनु ठीक हुन्छ ।