आज वि.सं. २०८१ वैशाख ०५ गते बुधवार तदनुसार ई. सं. २०२४ अप्रिल १७ तारिख, कालयुक्त नामक संवत्सर, सूर्य उत्तरायण, वसन्त ऋतु, कलिगत ५१२५, शाके १९४६, नेपाल सं. ११४५, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८६०, हिजरी सं. १४४५, चन्द्रोदय : दिउँसो १२:५७ बजे र चन्द्रास्त : मध्यरात्रीपछि १२:३७ बजे, सूर्योदय : बिहान ०५:३९ बजे र सूर्यास्त : साँझ ०६:३० बजे, चैत्र शुक्लपक्ष (चौलाथ्व) नवमी तिथि, साँझ ०५:५३ बजेसम्म, त्यसपछि दशमी तिथि, पुष्य (तिष्य) नक्षत्र, बिहान ०८:०८ बजेसम्म, त्यसपछि अश्लेषा नक्षत्र, चन्द्रमा कर्कट राशिमा (अहोरात्र व्याप्त)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
व्यस्ततामा दिन बित्नेछ, तथापि कामको चापबाट फुर्सद निकालेर आज केही समय घरपरिवार र छोराछोरीका लागि छुट्याउनु राम्रो हुन्छ । लवपार्टनर र घरपरिवारका लागि समय व्यवस्थापन गर्न सके सहज हुनेछ, अपेक्षित माया, विश्वास एवं समझदारी कायम रहनेछ । गर्दै नगरेको र थोरै सहभागिता जनाएको कुनै काममा फँस्नसक्ने समय छ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
कामप्रतिको समर्पण भावका माध्यमबाट ठूलो लाभ मिल्ने समय छ, साथै बोली र व्यवहारका बलमा सेवाग्राहीलाई आकर्षित तुल्याउन सकिने छ । माइतीपक्ष वा दिदीबहिनीका बारेमा कुनै शुभ समाचार प्राप्त हुनेछ । धार्मिक प्रयोजनको काम वा सामाजिक क्रियाकलापमा पनि दौडधूप गर्नुपर्ने दिन हो ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
अचानक कुनै मित्रसँग भेटघाट हुने अथवा कुनै नयाँ अवसरको उपयोग गर्ने दिन हो, प्रभावशाली कुराकानीका माध्यमबाट तपाईंले आफ्नो अन्तर्वार्ता, प्रजेन्टेसन, र बैठकहरूमा अरुमाथि राम्रो छाप छोड्न सक्नुहुन्छ । कार्यक्षेत्रमा परिवर्तन गर्ने वा नयाँ ठाउँमा सरुवा हुने धारणा पलाउनेछ, थप आयश्रोत बढाउने विषयका साथै आयका मार्ग सुचारु गर्न चिन्तन गर्न सक्नुहुन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
प्रत्येक काममा बाधा आउने र ढिलो हुने सम्भावना छ । कहिलेकाँही असुरक्षाको हीनभावना विकसित हुनसक्छ । कामको बोझ बढ्नेछ । आम्दानी बढ्नेछ । कुनै प्रशासनिक वा व्यवस्थापकीय कार्यका लागि अनुकूल समय छ । तामा र रातो चिजबीजमा फाइदा देखिन्छ । जीवनसाथी र परिवारका सदस्यहरूको पूर्ण सहयोग रहने दिन छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
अल्छीपना देखिन्छ, शरीर भारी भएकाले कुनै पनि काम पूरा नहुन सक्छन्, मानसिक शान्ति र विश्रामप्रति आकर्षित बन्दा राम्रो हुन्छ । खर्चको मात्रामा अचानक बृद्धि हुनसक्छ, अझ नजिकैको आफन्त वा मनमिल्ने साथीसँगको साझेदारीमा कुनै कारोबार गर्नुछ भने आज सावधानीपूर्वक कदम चाल्नु आवश्यक देखिन्छ, अन्यथा आर्थिक क्षति हुने दिन हो ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
नयाँ योजना कार्यान्वयन गर्ने दिन हो, दीर्घ प्रयोजनको लाभमूलक काम अघि सार्ने हो भने योजना बनाउने, साझेदार र मतियारका बीचमा छलफल गर्ने र प्रशासनिक तौरतरिका बुझ्ने समय आएको छ । परिस्थितिवश जिम्मेबारीबाहिरको काममा अलमलिनु पर्ने हुन्छ । काममा विलम्ब भए पनि कुनै विशेष काम सम्पादन गर्ने दिन हो ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आत्मविश्वास र दृढतामा बृद्धि हुनुका साथै मज्जाले परिश्रम गर्ने दिन हो । कारोबारमा बेफाइदा हुँदैन, तर पारिवारिक सम्बन्धमा निरसता देखिने छ । दाम्पत्य जीवन सुखमय नै रहनेछ, तर थप जिम्मेबारी र दायित्व बढ्ने समय छ, घरपरिवारभित्रकै वा आफन्तको काममा अलि बढी खट्नुपर्ने दिन हो ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ, विभिन्न अवसर प्राप्त हुनाका साथै उच्च अधिकृतहरूसँग उठबस र मित्रता हुनसक्ने समय हो । पारिवारिक बाध्यता वा कुनै सामाजिक व्यस्तताका कारण बेफुर्सदिलो भइने समय छ, तर अचानक पार्टनरसँग भेटघाट हुँदा मन फुरुङ्ग बन्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
परिवार र साथीहरूप्रतिको तपाईंको भावनाले चिन्ता बढाउन सक्छ, त्यस्तै स्वभावमा चिडचिडेपन र तनाव बढ्नाले आपसी भेटघाटमा नोकझोक र किचलोसमेत हुनसक्छ । कुनै महत्त्वपूर्ण चिजबिज हराउने वा नाश हुने खतरा छ । सिनियर स्टाफ, हाकिम वा गुरुजनसँगको सम्बन्धमा नकारात्मकता देखिने छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आन्तरिक तिर्सनाको परिपूर्ति हुने दिन हो । पतिपत्नीका बीचमा समझदारी बढ्नेछ । आज कुनै भनुँ भनुँ लागेको कुरा बताउने दिन हो । आफ्नो खूबी, क्षमता र आन्तरिक प्रतिभालाई बाहिर निकालेर प्रतिष्ठा कमाउने समय हो, लुकेको कलात्मक प्रतिभाको प्रस्फुटन हुनाले भविष्य सुध्रने छ । रामरमाइलो र रमझमप्रति मनको आकर्षण रहने सुन्दर दिन छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
घमण्ड र क्रोधमा बृद्धि हुनसक्छ, तर पनि व्यक्तिगत कार्य र पारिवारिक जिम्मेबारीका बीच तालमेल मिलाउन सकेमा विवाद एवं अपजसबाट बच्न सकिन्छ । निराशा र कुण्ठा बढ्ने समय हो, नबुझेको कुनै कुरा छ भने एकान्तमा बसेर दोहोर्याएर प्रयत्न गर्नुपर्छ, नयाँ बाटो पहिल्याउन सकिन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
व्यक्तिगत खुसी, आनन्द र मौजमस्तीका निम्ति समय निस्कनेछ । आफ्नो अनुकूलता हेरी सबै कार्य सहज ढंगले गरिँदै जानेछन् । सोच्ने सामर्थ्यमा कमी भएको आभास हुनेछ, एकान्तमा मात्र मन रमाउने दिन हो, तर आज सामाजिकता र सहकार्यमा ध्यान दिनु ठीक हुन्छ । सन्तान वा सहयोगी कामदारको सहयोग लिएर व्यवस्थापन पक्षको लथालिङ्गलाई मिलाउन प्रयास गरिने छ ।