माघ २, काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हात पारेको छ । आज मंगलबार पुलिसले कोशी प्रदेशलाई ७ विकेटको फराकिलो अन्तरले हरायो ।

जितका लागि पाएको १६७ रनको लक्ष्य पुलिसले २३.१ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । पुलिसलाई जिताउन अर्जुन साउदले ६२ रन र दीपेन्द्र सिंह ऐरीले २८ रन बनाए । चौथो विकेटका लागि नट आउट ७३ रनको साझोदारी गरेका उनीहरु दुवै नट आउट रहे ।
त्रिवि क्रिकेट मैदानमा यसअघि पहिला ब्याटिङ गरेको कोशीले सुजन थपलियाको शतक मद्दतमा १६९ रन बनाएको थियो । ७ रन हुँदा २ विकेट गुमाएको स्थितिमा चौथो नम्बरमा ब्याटिङमा आएका उनले एक छेउबाट कोशीको इनिङ सम्हाल्दै १०५ रन बनाएका थिए । उनले आठौं विकेटका लागि अभ्यास तिम्सिनासँग ९९ रनको साझेदारी गरे । अभ्यासले २३ रन बनाए ।
पुलिसका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए । ललित राजवंशी र सुनिल धमलाले समान २/२ विकेट लिए । रसिद खान, सागर ढकाल र कुशल भुर्तेलले १/१ विकेट लिए । यो कोशीको लगातार तेस्रो हार हो ।