• २०८३ साउन २३ गते शनिवार

पूर्वराष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असोज २५, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँ पर्वले सम्पूर्ण नेपालीहरू बीचको सामाजिक–सांस्कृतिक ऐक्यबद्धतालाई सुदृढ गर्दै न्यायपूर्ण‚ समतामूलक‚ सभ्य एवं सुसंस्कृत समाज निर्माणका लागि क्रियाशील रहन प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

बडादसैँका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै उहाँले यस वर्ष दसैँको पूर्वसन्ध्यामा आइपरेको मनसुनजन्य प्राकृतिक विपद्का कारण उत्पन्न परिस्थितिले धेरैलाई यो दसैँ अलि असहज भएको छ बताउनुभएको छ । “यो दसैँ पर्वलाई हामीले आ–आफ्नो परिवेश,परिस्थिति र गच्छेअनुसार तडकभडकरहित,मितव्ययी,तर खुसियालीका साथ मनाउनु पर्दछ,” शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँको अवसरमा जारि गर्नु भएको शुभकामना शन्देस :
बडा दसैँ, २०८१ को शुभकामना
नेपालीहरूको महान् चाड बडा दसैँ, २०८१ को अवसरमा विश्‍वभर छरिएर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । वर्षायामको हिलोमैलो सकिएपछि स्वच्छ र सुन्दर शरद ऋतुको सुरुवातसँगै हर्षोल्लासपूर्वक मनाइने बडा दसैँ पर्वलाई हामीले धार्मिक‚ सांस्कृतिक र सामाजिक पर्वको रूपमा मनाउँदै आएका छौँ । बडा दसैँ नेपालीहरूको सबभन्दा ठूलो चाड हो । विविध क्षेत्र र समुदायका दसैँ मनाउने आ–आफ्नै विधि र परम्परा रहेको भएता पनि यो सम्पूर्ण नेपालीहरूको साझा चाड पनि हो ।

मीठो खाने, राम्रो लगाउने र मनोरञ्जन गर्ने फुर्सदिलो क्षण मात्र नभएर आफन्तजनहरूसँगको सम्बन्धलाई गाढा बनाउने तथा चिसिएको सम्बन्धलाई न्यानो बनाउने, मान्यजनहरूबाट आशिर्वाद लिने र आफूभन्दा सानाहरूलाई आशिर्वाद दिने अवसरको रूपमा बडा दसैँको विशेष महत्त्व रहेको छ । यस वर्ष दसैँको पूर्वसन्ध्यामा आइपरेको मनसुनजन्य प्राकृतिक विपद्का कारण उत्पन्न परिस्थितिका कारण धेरैलाई यो दसैँ अलि असहज र खल्लो पनि भएको छ । त्यसैले यो दसैँ पर्वलाई हामीले आ–आफ्नो परिवेश, परिस्थिति र गच्छेअनुसार तडकभडकरहित, मितव्ययी, तर खुसियालीका साथ मनाउनु पर्दछ ।

अन्तमा, बडा दसैँ पर्वले सम्पूर्ण नेपालीहरू बीचको सामाजिक-सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै न्यायपूर्ण‚ समतामूलक‚ सभ्य एवं सुसंस्कृत समाज निर्माणका लागि थप उत्साह, उमङ्गका साथ क्रियाशील रहन प्रेरणा प्रदान गरोस् भन्‍ने शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद ।
२०८१ साल असोज २४ गते, विहीबार ।

Sharing

प्रतिक्रिया दिनुहोस