माघ २८, काठमाडौं । काठमाडौँ महानगरपालिका भित्रका फुटपाथ व्यवसायीहरूले महानगरबिरुद्ध प्रदर्शन गरेका छन् । आज राष्ट्रिय स्वरोजगार व्यवसायी संघ, नेपाल सडक व्यापार व्यवसायी संघ र फुटपाथ व्यापारीहरूले संयुक्त रूपमा महानगरको विरोध प्रदर्शन तथा काठमाडौँ महानगरपालिकाको कार्यालय घेराउ गरेका हुन् ।

प्रदर्शनका क्रममा फुटपाथ व्यवसायी भीमा खड्काले महानगरपालिकाले वार्ताको नाटक गर्दै वार्ता एकलौटी भंग गरेको आरोप लगाइन् । फुटपाथ व्यवसायीहरलाई बाच्न दिन आग्रह गर्दा महानगरले राति आएर आफ्ना सामानहरु लुटेर लगेको आरोप पनि उनले लगाइन् । त्यस्तै, अर्का फुटपाथ व्यवसायी सुजन गिरीले स्वरोजगार व्यापारीहरूले गरिखान पाउनुपर्ने र उचित र वैकल्पिक ठाउँ दिनुपर्ने बताए । महानगरपालिका व्यापारीको व्यवस्थापन भन्दा पनि बेरोजगार बनाउन उद्धत भएको आरोप लगाए ।