आज वि.सं. २०८० फाल्गुन २५ गते शुक्रवार तदनुसार ई. सं. २०२४ मार्च ०८ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४४, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८६०, हिजरी सं. १४४५, चन्द्रास्त : दिउँसो ०४:०,४ बजे र चन्द्रोदय : भोलि बिहान ०३:५३ बजे, सूर्योदय : बिहान ०६:२४ बजे र सूर्यास्त : साँझ ०६:०७ बजे, फाल्गुन कृष्णपक्ष (सिल्लागा) त्रयोदशी तिथि, बेलुका ०८:०७ बजेसम्म, त्यसपछि चतुर्दशी तिथि, श्रवण नक्षत्र, बिहान ०८:३२ बजेसम्म, त्यसपछि धनिष्ठा नक्षत्र, चन्द्रमा मकर राशिमा, बेलुका ०७:४६ बजेसम्म, त्यसपछि कुम्भ राशिमा

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
भेटघाटको समयमा व्यक्तिगत उन्नति÷प्रगति वा पदप्रतिष्ठाको चर्चा नगर्नु होला, नत्र सम्बन्धमा खाडल सिर्जना हुने तथा तनाव बढ्ने समय हो । जीवनशैली र कार्यप्रणालीमा आएको परिवर्तनले सकारात्मक वातावरण बन्नेछ । फोन वा मेलमार्फत कुनै राम्रो समाचार पाउन सक्नुहुन्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
धार्मिक÷सामाजिक काममा खट्नुपर्दा घरायसी कामको बोझ बढ्ने दिन हो, तर पनि सबैको प्रशंसा बटुल्न पाउँदा आनन्दित र सन्तुष्ट बन्ने समय छ । आजको दिन तपाईंको आफ्नै हातमा छ, प्रयास गरेमा राम्रो उपलब्धि हासिल हुने तथा अल्छी गरेमा सुनौलो अवसर पनि गुम्नसक्ने समय हो ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
यन्त्र वा उपकरणको प्रयोगमा सावधान हुनुपर्छ, विवाद वा लफडामा पनि पछि हट्नुहोला, समस्या परेमा सिनियर कर्मचारीको सहयोग लिनु बेस हुनेछ । परिवार र साथीहरूप्रतिको तपाईंको भावनाले चिन्ता बढाउन सक्छ, त्यस्तै स्वभावमा चिडचिडेपन र तनाव बढ्नाले आपसी भेटघाटमा नोकझोक र किचलोसमेत हुनसक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
प्रविधिको प्रयोग गरेर वा अनलाइन गतिविधिमार्फत अतिरिक्त लाभ हुनसक्छ । ढुवानी र आयातनिर्यातको काममा संयमता अपनाउनु ठीक हुन्छ । आनन्द र मनोरञ्जक गतिविधिमा केन्द्रित भइने छ । कामकाजी महिलाको व्यक्तिगत समुन्नति र प्रतिष्ठाको योग छ । छोराछोरीले मनको कुरो बुझ्नेछन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
शारीरिक थकान र बेचैनीको समय हो, ससाना कुरामा चिन्ताग्रस्त भइने छ, सानातिना विषयमा चिन्ता गर्ने हुँदा आफूमात्र होइन, आफन्त र सँगीसाथीको तनावमा समेत बृद्धि हुने समय छ । कमजोरीलाई माध्यम बनाएर शत्रु हाबी हुने समय छ, विश्वासिलो साथी वा सहयोगी कर्मचारीले नै समस्या बल्झाउन सक्छन्, सचेत हुनुपर्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आफैंले कुनै प्राविधिक वा सीपमूलक ज्ञान प्राप्त गरेर लाभान्वित बन्ने समय छ, उता घरमा छोराछोरी वा भाइबहिनीका समस्यामा केन्द्रित हुनुपर्नेछ । व्यक्तिगत खुसी, आनन्द र मौजमस्तीका निम्ति समय निस्कनेछ । आफ्नो अनुकूलता हेरी सबै कार्य सहज ढंगले गरिँदै जानेछन् ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
कुनै कुरालाई लिएर दाम्पत्य जीवनमा वैचारिक मतभेद देखा पर्नेछ, जुनसुकै कुरामा धैर्य र सकारात्मक रहनु कल्याणकारी र लाभदायक ठहरिने छ । घरपरिवारमा सँगै बस्नेले बाध्यात्मक काममा अलमलिने परिस्थिति देखिन्छ, यद्यपि उच्च शिक्षाका विद्यार्थी एवं वैदेशिक प्रयोजनको अध्ययन गर्नेले राम्रो परिणाम पाउनेछन् ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
एकआपसका सुखदुःख एवं चाहना बुझी कार्य गर्ने प्रयास गर्नुपर्छ, एकअर्काका त्रुटिप्रति सचेत हुने र माफ गरी अघि बढेमा सम्बन्ध मजबुत हुनेछ । घरजग्गाको खरिदबिक्री वा स्थिर प्रयोजनमा धनलगानीको समय हो, घरबाट कुनै धार्मिक वा माङ्गलिक कर्मसम्बन्धी समाचार आउने छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
सामाजिक गतिविधिमा खट्ने दिन हो, धार्मिक वा सांस्कृतिक काममा सहभागी बन्नाले प्रतिष्ठा र पहिचान प्राप्त हुनेछ । कम्युनिकेसन, विज्ञापन वा मार्केटिङ तपाईंको व्यवसाय बढाउने उत्तम तरिका बन्नसक्छ । मानिसहरूको नकारात्मक प्रतिक्रियालाई बेवास्ता गर्दै आफ्नो कर्ममा ध्यान दिने समय हो ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
क्षमता प्रदर्शन गरी आफूलाई सर्वश्रेष्ठ साबित गर्ने दिन हो, नौलो विषयको जानकारी लिएर प्राज्ञिक क्षमतालाई तिखार्ने अवसर मिल्नेछ । नयाँ उत्साह र उमङ्ग जाग्ने समय हो, खुसी र प्रसन्नताको सीमा हुनेछैन । विजय र सफलताले जताततै पछ्याउन सक्छ तर रिसराग, घमण्ड र अहङ्कारबाट टाढा रहनु ठीक हुन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
महत्त्वाकाङ्क्षी र आशावादी बन्नु सकारात्मक पक्ष हो, तर खेलवाड र मनोरञ्जनमा भुलिंदा वा कुनै लापरबाहीले भविष्यमा पछुतो मान्ने परिस्थिति बन्नसक्छ । परिबन्द र बाध्यताका काममा रुमल्लिनु पर्ने हुन्छ, नियमित र व्यवहारिक खर्च बढ्न सक्छ, तर वैदेशिक प्रयोजनको कामबाट मनग्ये लाभ हुनेछ, विदेशी सम्पत्तिको उपयोग गरी फाइदा बटुल्ने समय हो ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
गोप्य शत्रुहरूबाट सजग रहनु होला, त्यस्ता व्यक्ति तपाईंका अन्तरङ्ग साथीका रूपमा पनि हुनसक्छन् । नयाँ रोजगारीका लागि प्रयासरत हुनुहुन्छ भने गरेको प्रयासमा सफलता मिल्नेछ । सरकारी काम, ठेकापट्टा आदिमा अड्किएको काम फुकाउन सकिने समय हो, प्रयास गरेमा अन्य काममा समेत लाभ पाउने समय हो ।