आज वि.सं. २०८१ ज्येष्ठ २२ गते मङ्गलवार तदनुसार ई. सं. २०२४ जुन ०४ तारिख, कालयुक्त नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, कलिगत ५१२५, शाके १९४६, नेपाल सं. ११४४, किरातवर्ष ५०८४, मञ्जुश्री वर्ष २८६०, हिजरी सं. १४४५, चन्द्रास्त : दिउँसो ०४:२५ बजे र चन्द्रोदय : भोलि बिहान ०३:०१ बजे, सूर्योदय : बिहान ०५:१० बजे र सूर्यास्त : साँझ ०६:५५ बजे, ज्येष्ठ कृष्णपक्ष (वछलागा) त्रयोदशी तिथि, बेलुका ०९:११ बजेसम्म, त्यसपछि चतुर्दशी तिथि, भरिणी नक्षत्र, बेलुका १०:१४ बजेसम्म, त्यसपछि कृतिका नक्षत्र, चन्द्रमा मेष राशिमा, मध्यरात्रीपछि ०३:५८ बजेसम्म, त्यसपछि बृष राशिमा

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
नयाँ अनुभवका साथ कसरी अघि बढ्ने भन्ने चिन्तामा केन्द्रित भइने छ, हिसाबकिताबको लेखाजोखा र व्यवस्थापकीय जिम्मेबारीका लागि समय छुट्याउनु पर्ने हुन्छ । आत्मबल र जोसजाँगर बढ्नेछ, घरायसी काम समयमैं टुङ्ग्याइने छ, भावना साटासाट गर्दै पतिपत्नी एकान्तमा रमाउन पाउने र घुमफिरमा निस्कने समय हो ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
खर्चको मात्रामा अचानक बृद्धि हुनसक्छ, अझ नजिकैको आफन्त वा मनमिल्ने साथीसँगको साझेदारीमा कुनै कारोबार गर्नुछ भने आज सावधानीपूर्वक कदम चाल्नु आवश्यक देखिन्छ, अन्यथा आर्थिक क्षति हुने दिन हो । कुविचार, भ्रम, चिन्ता र शङ्का मँडारिने समय छ, त्यसैले लक्ष्यप्रति सचेत हुनुपर्छ, सानातिना र बेकारका कुराहरूमा अलमलिनु राम्रो होइन ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
उच्चकोटिको पारिवारिक सुख मिल्नेछ, लामो समयदेखि सम्पर्क भएको छैन भने आजको केही समय घरपरिवार र आफन्तलाई पनि छुट्याउनु होला । जोखिम मोलेर गरेको कामबाट फाइदा हुनेछ, बुद्धि र विवेकको प्रयोग गरी विगतमा गुमाएका विषयवस्तुसमेत पुनः प्राप्त गर्न सकिने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
कुनै नयाँ विषयवस्तु वा प्राविधिक ज्ञानले आकर्षण गरेको समय छ, परिश्रम गर्ने छात्रछात्राले उत्कृष्ट परिणाम प्राप्त गर्नेछन् । व्यक्तिगत प्रतिष्ठा र वर्चस्व स्थापना गर्न सकिने राम्रो समय छ । राजनीति वा समाजसेवा नै तपाईंको कार्यक्षेत्र हो भने त पदप्रतिष्ठा र सम्मानले तपाईंको प्रतीक्षा गरिरहेको परिस्थिति देखिन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
पारिवारिक बाध्यता वा कुनै सामाजिक व्यस्तताका कारण बेफुर्सदिलो भइने समय छ, तर अचानक पार्टनरसँग भेटघाट हुँदा मन फुरुङ्ग बन्नेछ । ख्याति र प्रतिष्ठा बढाउन प्रयास गर्ने समय हो, पिता वा पितातुल्य व्यक्तिको सुझावलाई मनन गर्न सकेमा आम्दानीका मार्गलाई सकारात्मक गति प्रदान गर्न सकिने छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आफन्त वा मित्रवर्गमा विरोधाभास र मतभेद बढ्ने समय हो । बल प्रदर्शन गर्ने र तुजुक देखाउने काममा पछि हट्नु ठीक हुन्छ । नयाँ लगानीका निमित्त उपयोगी दिन छैन, त्यस्तै सामुन्ने देखिएका समस्यालाई चाँडो समाधान गर्नुहोला, नत्र व्यापारिक कारोबारमा दूरगामी प्रभाव पर्नसक्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
रामरमाइलो र रमझमप्रति मनको आकर्षण रहने सुन्दर दिन छ । मनमा नयाँ उमङ्ग पलाउने छ । विवाहयोग्य उमेर छ र अविवाहित हुनुहुन्छ भने कुनै व्यक्तिप्रति विशेष आकर्षणसमेत बढ्न सक्छ । व्यस्त रहनुपर्ने समय छ, तर सहकर्मीको साथ पाउनाले दिन सजिलै बित्नेछ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
खेलकुद, उपहार सामाग्री, स्वास्थ्य र सरसफाइको व्यवसायमा राम्रै देखिन्छ, तर सँगीसाथी र साझेदारको क्रियाकलाप चित्तबुझ्दो नलाग्न सक्छ । घमण्ड र जिद्दीपना त्याग्नसकेमा तर्क र बहसमा विजय प्राप्त हुनेछ, खिसीट्युरी गर्नेसित सतर्क रहनुपर्छ, नत्र ठूलो कलहको वातावरण बन्नसक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
प्रेमभाव, शान्त वातावरण, खुसी र सद्भाव कायम रहने राम्रो दिन छ । कनिष्ठ नातेदार वा छोराछोरीका तर्फबाट थप प्रसन्नता पाउन सक्नुहुन्छ । लगनशीलता र परिश्रमको प्रतिफल पाउने समय हो, परीक्षा वा प्रतियोगितामा सामेल हुनुछ भने अझ बढी मिहिनेत गर्नु ठीक हुन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सिनियर कर्मचारीको आदेशलाई बेवास्ता गर्नु हुँदैन । थकानको अनुभूति हुने अथवा घरायसी विषय वा प्रेमसम्बन्धको तनावले कार्यक्षेत्रमा प्रभाव पर्नसक्ने दिन हो । लवपार्टनर र घरपरिवारका लागि समय व्यवस्थापन गर्न सके सहज हुनेछ, अपेक्षित माया, विश्वास एवं समझदारी कायम रहनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
कुनै पुरानो समस्या वा कारबाहीमा ध्यान केन्द्रित हुनसक्छ, त्यसैले नबुझेको विषय छ भने सहकर्मीको मद्दत लिएमा समस्या हल गर्न सजिलो हुनेछ । एकआपसका सुखदुःख एवं चाहना बुझी कार्य गर्ने प्रयास गर्नुपर्छ, एकअर्काका त्रुटिप्रति सचेत हुने र माफ गरी अघि बढेमा सम्बन्ध मजबुत हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सुखसुविधा बृद्धिका लागि विभिन्न सामाग्रीको किनमेल गरिने र खर्च बढ्ने दिन हो, तर खर्च बढे पनि मानसिकतामा यसको कुनै प्रभाव पर्नेछैन । परीक्षा वा प्रतियोगिताका दृष्टिकोणले अनुकूल दिन छ । कुनै नौलो विषयको जानकारी लिएमा भविष्यमा राम्रो उपलब्धि लिन सकिने छ ।