मंसिर १७, काठमाडौं । स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनमा हालसम्म ३७ स्थानको नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार काठमाडौंको कीर्तिपुर नगरपालिकाका प्रमुख, दोलखाको गौरीशङ्कर गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष र उदयपुरको बेलका नगरपालिका–९ को वडाध्यक्षको मतगणना जारी छ ।

मतगणना जारी रहेका बाँकी चारै स्थानको नतिजा पनि आजै राति अबेरसम्म आइसक्ने अनुमान गरिएको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले राससलाई जानकारी दिनुभयो ।
कीर्तिपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका कृष्णमान डङ्गोल तीन हजार आठ सय ३४ मतका साथ अग्रस्थानमा हुनुहुन्छ । उहाँका निकटम प्रतिस्पर्धी एमालेका सुरेन्द्र मानन्धरले दुई हजार नौ सय १३, माओवादी केन्द्रका शिवशरण महर्जनले दुई हजार तीन सय १७ मत पाउनुभएको छ ।
स्वतन्त्र उम्मेदवारहरु राजमान महर्जनले एक हजार दुई सय सात, दिनेशकुमार अधिकारीले नौ सय ७५, कविकुमार महर्जनले नौ सय ९४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका धुव्र महर्जनले पाँच सय ५४ मत प्राप्त गर्नुभएको छ ।
दोलखाको गौरीशङ्कर गाउँपालिका उपाध्यक्षका उम्मेदवार माओवादी केन्द्रकी निम लेकी शेर्पाले एक हजार तीन सय ८० मत प्राप्त गरी अग्रता कायम राख्नुभएको छ । उहाँको प्रतिस्पर्धी एमालेका उमा लुङ्गेली मगर शेर्पाले एक हजार १३, कांग्रेसका सात सय ९६, स्वतन्त्र पार्टीका गोमा श्रेष्ठले ६०, एकीकृत समाजवादीका रविना खड्काले ३१, राष्ट्रिय प्रजातन्त्र पार्टीका मनकुमारी श्रेष्ठले २९ मत प्राप्त गर्नुभएको छ ।
हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का देवकी तिमल्सिनाले सात सय छ मतसहित अग्रता कायम गरिरहनुभएको छ । उहाँको प्रतिस्पर्धी कांग्रेसका सविता बुढाले चार सय ९३ मत पाउनुभएको छ । एमालेका जाना शाहीले चार सय ७१ मत पाउनुभएको छ ।
उदयपुरको बेलका नगरपालिका वडा नं ९ को मतगणना आज साँझ ५ बजेदेखि सुरु भएको छ । सो वडामा एमालेका मोहन खड्का, कांग्रेसका नवराज बस्नेत, माओवादी केन्द्रका भरत घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीका तेजमान विश्वकर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीका टीकाप्रसाद फुयाँल, मङ्गोल नेशनल अर्गनाइजेसनका सुरे तामाङ र जनता समाजवादी पार्टीका राजकुमार राई उम्मेदवार हुनुहुन्छ ।