• २०८३ कार्तिक ९ गते आइतवार

यू–१९ विश्वकप क्रिकेट : नेपाल भारतसँग एक सय ३२ रनले पराजित

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

माघ १९, काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा नेपालले भारतसँग एक सय ३२ रनले पराजित भएको छ । शुक्रबारको खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको भारतले निर्धारित ओभरमा पाँच विकेट गुमाएर दुई सय ९७ रन बनाएकोमा जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ६५ रनमात्र बनाउन सक्यो ।

नेपाली टोलीका पाँच ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाउन सके । ओपनर दीपक बोहरा र अर्जुन कुमालले ४८ रनको साझेदारी गरे । दीपक २२ रन बनाउँदै आउट भए । अर्जुनले पेभेलियन फर्किनुअघि २६ रन बनाएका थिए । चौथो नम्बरमा क्रिज समाल्न आएका कप्तान देब खनाल ३३ रन बनाउँदै आउट भए । उत्तम रंगु थापामगर आठ रनमा पेभेलियन फर्किए । विशालबिक्रम केसी एक रन बनाउँदै आउट भए । दीपक डुम्रेले खातासम्म खोल्न सकेनन् । गुल्सन झा पनि एक रनमै आउट भए । दिपेश कँडेलले पनि खाता खोल्न सकेनन् । सुवाष भण्डारी पाँच रनमा पेभेलियन फर्किए । आकाश चन्दले अविजित १८ रन बनाए । दुर्गेस गुप्ताले अविजित २९ रन जोडे ।

नेपालले अतिरिक्त रुपमा २२ रन पाएको थियो । भारतीय टोलीका बलर सौमी पाण्डेले चार विकेट लिएका थिए । आर्शिन कुलकर्णीले पनि दुई विकेट हात पारे । राज लिम्बानी, आराध्य शुक्ला र मुरुगन अभिषेकले एक–एक विकेट लिए ।

Sharing

प्रतिक्रिया दिनुहोस