• २०८३ जेष्ठ १६ गते शनिवार

दक्षिणकालीमाताको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस

खबर२४ नेपाल पढ्न लाग्ने समय : ४ मिनेट

आज वि.सं. २०८१ वैशाख १९ गते बुधवार तदनुसार ई. सं. २०२४ मई ०१ तारिख, कालयुक्त नामक संवत्सर, सूर्य उत्तरायण, वसन्त ऋतु, कलिगत ५१२५, शाके १९४६, नेपाल सं. ११४४, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८६०, हिजरी सं. १४४५, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:२० बजे र सूर्यास्त : साँझ ०६:२८ बजे, चन्द्रास्त : दिउँसो ११:४१ बजे र चन्द्रोदय : मध्यरात्रीपूर्व ११:३२ बजे, सूर्योदय : बिहान ०५:२६ बजे र सूर्यास्त : साँझ ०६:३७ बजे, वैशाख कृष्णपक्ष (चौलागा) अष्टमी तिथि, मध्यरात्रीपछि ०१:०७ बजेसम्म, त्यसपछि नवमी तिथि, श्रवण नक्षत्र, मध्यरात्रीपछि १२:४२ बजेसम्म, त्यसपछि धनिष्ठा नक्षत्र, चन्द्रमा मकर राशिमा (अहोरात्र व्याप्त)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
कर्मको प्रतिफल हात पार्ने तथा पदासीन व्यक्तित्वसँग निकटता बढ्ने दिन हो, लगनशील भएमा पुरस्कार र बढुवा पाउन सकिने छ । व्यवसायिक कामको चाप बढ्नसक्छ अथवा कुनै कामका लागि टाढा जानुपर्ने बाध्यता हुनेछ, यद्यपि एकआपसमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
असम्भव आशाका पछि लाग्ने हुँदा उल्टै नोक्सानी हुनेछ । आज कालीगढी, मरम्मतसम्भार, काठपात, प्लास्टिक र रबरसम्बन्धी कारोबारमा राम्रो हुन्छ । अर्काको सहयोग गर्न पाउँदा वा परोपकारी काममा सन्तुष्टि बढ्ने समय हो, मनमस्तिष्क नै धर्म, अध्यात्म र जीवनसम्बद्ध उच्च दर्शनतर्फ आकृष्ट हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
मित्र र परिवारसँग सम्बन्धित भावनाले तपाईलाई चिन्तित बनाउन सक्छ, त्यस्तै अप्ठ्यारो र झञ्झटिलो मार्गमा अघि बढ्ने समय हो, तर जोखिम र सङ्कट मोल लिएर गरेको कामको परिणाम लाभदायी हुनसक्छ । गोपनीयता बाहिरिनाले वा विगतको सानो कमजोरीले तनाव बढ्ने तथा मनमा अनावश्यक भय र त्रास सिर्जना हुने कमजोर समय छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आत्मीय मित्र वा प्रेमीप्रेमिकाका बीचमा अविश्वास र भ्रम सिर्जना हुने सङ्केत छ, आफ्नो काम र लक्ष्यप्रति विश्वस्त हुनु ठीक हुन्छ । आम्दानीका दृष्टिले कमजोर समय छैन, तर मन भावुक र चञ्चल बन्नसक्छ, त्यस्तै पारिवारिक प्रयोजनमा पनि केही समय खर्च हुनसक्छ । पारिवारिक भ्रमणमा निस्कनुपर्ने हुन्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
ओभर कन्फिडेन्समा नरहनु होला, परीक्षा वा प्रतिस्पर्द्धा नजिकै आएको छ भने खेलवाड र मनोरञ्जनलाई पूर्णतया त्यागेर थप मिहिनेत गर्नु समुचित हुनेछ । आफूलाई अरुभन्दा फरक साबित गर्न प्रयास गर्ने दिन हो, मनोद्वेग र रिसराग बढ्ने समय भएकाले घरव्यवहारमा आफूलाई संयमित ढंगले प्रस्तुत गनुपर्छ, तर्क वा बहसमा विजय प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
भावुक र संवेदनशील बन्न सकिन्छ तर पनि बौद्धिक क्षमता वा सीप बढाउने प्रयत्न गर्नुपर्छ, जस्तै चुनौतीपूर्ण काम भए पनि सफलता मिल्नेछ, परीक्षा र प्रतिस्पर्द्धामा विजय प्राप्त हुने दिन हो । व्यक्तित्व विकास र उज्ज्वल भविष्यको कामना राखी काम गर्ने समय हो, प्रयास गरेमा इनसर्भिस अध्ययन वा तालिमको अवसर प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिने समय हो, महत्त्वपूर्ण निर्णय लिनुअघि अनुभवी वा जानकार व्यक्तिको सल्लाह लिएर अघि बढ्नु होला । दाम्पत्यजीवन सुखद रहने एवं परिवारमा सुखशान्ति र सम्मृद्धि छाउने राम्रो समय छ, तर बुढाबुढी र बुजुर्ग सदस्यको भावनाको कदर गर्नुहोला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
सहकर्मी र जुनियर स्टाफको काममा अलमलिंदा नियमित काममा बाधा पुग्नेछ, तथापि गरेका क्रियाकलापमा आत्मसन्तुष्टि र प्रसन्नता मिल्ने दिन हो । साथीसंगीसित रमाइलो भेटघाट हुनेछ, एकआपसका गुनासा सुन्ने दिन हो, देखिएका चुनौती पन्छाएर पनि परिस्थिति अनुकूल बनाउन सकिने छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
व्यक्तिगत खुसीका लागि कुनै कुरामा खर्च बढ्ने समय हो, आर्थिक पक्ष कमजोर भएमा पार्टनरको सहायता लिन सकिने छ । उदारमना व्यक्तित्व वा हाइ प्रोफाइल व्यक्तिसँग उठबस गर्ने मौका मिल्नेछ, आवश्यक परेमा उहाँहरूको सुझाव प्राप्त हुनाले देखिएका बाधा हट्नसक्छन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
इच्छानुसार कार्य सम्पन्न हुँदै जाँदा प्रसन्नतामा बृद्धि हुने दिन हो, तर जुनसुकै कुरामा हडबड र शीघ्रता नगर्नु राम्रो हुन्छ । लगनशील भई परिश्रम गरेमा उत्कृष्ट परिणाम प्राप्त हुनेछ, आजको सानो प्रयासमा भाग्यको समेत साथ पाउनाले राम्रो रिजल्ट आउने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आर्थिक दृष्टिले कमजोर समय भएकाले हरेक काममा तौलेर खर्च गर्ने दिन हो, आज कुनै योजना कार्यान्वयन गर्न वा नयाँ कुरा किन्न अनुकूल समय देखिंदैन । महत्त्वहीन र बेकारका काममा समय नबिताउनु होला, बरु मन स्थिर छैन भने एकछिन आराम गरेर फेरि पठनपाठनमा जुट्नु ठीक हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
लाभमूलक काममा दौडधूप गर्नुपर्दा आपसी समन्वयमा कमजोरी देखा पर्नेछ, तर अनुराग र वाक्पटुताद्वारा परिस्थिति सहज बनाउन सकिने छ । गरिआएको काम वा व्यापारिक गतिविधिमा कुनै पनि प्रकारको परिवर्तन ल्याउने प्रयास नगर्नुहोस्, वर्तमान परिस्थितिमा मात्र ध्यान दिनु बेस हुनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस