• २०८३ बैशाख ३१ गते बिहिवार

प्रधानमन्त्रीद्वारा ल्होसारका अवसरमा शुभकामना व्यक्त

खबर24नेपाल पढ्न लाग्ने समय : २ मिनेट

पुस १५, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सु–स्वास्थ्य, दीर्घायु र समृद्धिको शुभकामनासमेत व्यक्त गरेका छन् । प्रधानमन्त्रीले देशको विशेषता र मौलिकताको आत्मसातीकरणसहित संघीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यलाई स्थापित गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन् ।

तमु ल्होसारका अवसरमा आज शुभकामना दिँदै उनले राष्ट्रियताको सम्वद्र्धन र समुदायको पहिचानमा नै मुलुकको एकता, स्वाधीनता, समृद्धि र राष्ट्रिय हित निर्भर रहेको बताए । प्रधानमन्त्री प्रचण्डले लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुसरण गरिने अक्षुण एकता, सद्भाव र सहिष्णुता नेपालको राष्ट्रिय विशेषता र पहिचानका रुपमा रहेको उल्लेख गरेका छन् । उनले यस विशेषतालाई आत्मसात गरी देशमा विद्यमान चुनौतीको सम्बोधन गर्दै समुन्नतिको राष्ट्रिय आकांक्षा प्राप्तिका निम्ति सरकार निरन्तर प्रयत्नशील रहेको बताए ।

प्रधानमन्त्रीद्वारा जारी गरिएकाे शुभकामना : पुरानो ल्हो (वर्ष) को बिदाइ र नयाँ ल्हो (वर्ष) को स्वागतको रुपमा तमु जातिले मनाउने ल्होसार पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, सु–स्वास्थ्य, दीर्घायु र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु।

नेपालको संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको एकत्वलाई राष्ट्रियको मेरुदण्डका रुपमा आत्मसात गरेको छ। विभिन्न जाति एवं समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न सभ्यता, भाषा, कला, संस्कृति, लिपि, भेषभुषा र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको छ। लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुशरण गरिने अक्षुण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता र पहिचानसमेत हो। यस विशेषतालाई आत्मसात गर्दै देशमा विद्यमान चुनौतीहरुको सम्बोधन गर्दै समुन्नतिको राष्ट्रिय आकाङ्क्षा प्राप्तिका निम्ति सरकार निरन्तर प्रयत्नशील रहँदै आएको छ।

नेपाली समाजले विकास गरेको आफ्नै मौलिक विचार नेपाली राष्ट्रियताको जगमा उभिएको छ। राष्ट्रियताको संवर्धन र समुदायको पहिचानमा नै मुलुकको एकता, स्वाधीनता, समृद्धि र राष्ट्रिय हित निर्भर रहन्छ। यस्ता मौलिक चाडपर्वहरुले नेपालीबीच सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता मजबुत बनाउँछ। तसर्थ, देशको विशेषता र मौलिकताको आत्मसातीकरणसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यलाई स्थापित गर्नु हामी सबैको साझा जिम्मेवारी हो।

अन्त्यमा, यस पर्वले राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा उर्जा एवं सामाजिक न्याय, सुशासन र समृद्धिको राष्ट्रिय कार्यभारमा एकीकृत हुन सम्पूर्ण नेपालीहरुमा उत्प्रेरणा पैदा हुने विश्वासका साथ फेरि एकपटक तमु जाति लगायत समस्त नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु। धन्यवाद।
मिति ः २०८० पुस १५ गते
नेपाल संवत् ११४४ थिंल्लागा ४

May be an image of text

Sharing

प्रतिक्रिया दिनुहोस