आज वि.सं. २०८० भाद्र १४ गते बिहीवार तदनुसार ई. सं. २०२३ अगस्ट ३१ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४५, चन्द्रोदय : साँझ ०६:२० बजे र चन्द्रास्त : पूर्णिमा भएकाले रातभरि चन्द्रास्त हुँदैन, सूर्योदय : बिहान ०५:४१ बजे र सूर्यास्त : साँझ ०६:२५ बजे, श्रावण शुक्लपक्ष (गुँलाथ्व) पूर्णिमा तिथि, बिहान ०७:५१ बजेसम्म, त्यसपछि प्रतिपदा तिथि, भोलि बिहान ०५:२६ बजेसम्म, अन्तिममा द्वितीया तिथि (तिथि टुटेको दिन), शतभिषा नक्षत्र, बेलुका ०८:१२ बजेसम्म, त्यसपछि पूर्वाभाद्रा नक्षत्र, चन्द्रमा कुम्भ राशिमा (अहोरात्र व्याप्त)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
कुनै काम त्यस्ता हुन्छन्, जसमा घरव्यवहार छलेर पनि काम गर्नुपर्ने हुन्छ, कुनै निजी काम वा छोराछोरीको खुसीका लागि थप खर्च गर्ने परिस्थिति बन्नसक्छ । बौद्धिक र ज्ञानमूलक क्षेत्रमा थप मिहिनेत गर्ने दिन हो, सहयोगी र मित्रवर्गको साथ जुटाउनसके महत्त्वपूर्ण उपलब्धि लिन सकिने छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
इच्छाएको फाँट वा कार्यालयको जिम्मेवारी प्राप्त हुने दिन हो, कामप्रतिको अभिरुचिका कारण छोटो समयमा कार्यसम्पादन गरी प्रशंसा बटुल्न सकिने छ । व्यक्तिगत कार्यक्षेत्रमा बोझ बढ्ने दिन हो, निजी काममा खट्नुपर्दा अधिकांश समय बित्नसक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
साझेदारीको कामबाट फाइदा हुनेछ । धार्मिक र आध्यात्मिक चेतना बढ्नेछ, इमानजमानको ख्याल राख्नु तथा नियमकानूनको पालना गर्नु उचित हुनेछ । कुनै पारम्परिक वा सामाजिक क्रियाकलापमा संलग्नता जनाउने राम्रो दिन छ, तर योजना अनुरूप आफ्ना नियमित कामधन्दामा केही बाधा उत्पन्न हुनसक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
कसैको चित्त दुखाएर फाइदा लिने कोशिस गर्नुहुँदैन, दुराशा र महत्त्वाकाङ्क्षाले केवल निराशामात्र बढ्दछ । हतारमा लिएको निर्णय गलत हुनसक्छ, त्यसैले धैर्य र संयमताका साथमा काम गर्ने दिन हो । असहजता बीचमा कामको चाप बढ्ने दिन हो, स्वभावगत कमजोरी वा उदार मनोवृत्तिको प्रयोग गरी अरुले नाजायज फाइदा उठाउन सक्छन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
एक्लै घोरिरहन मन लाग्छ, व्यक्तित्वमा घमण्ड र अहङ्कारले प्रवेश गर्ने समय छ, तर आज संयम भएर अर्काका कुरा सुनेको राम्रो हुन्छ । कलात्मक कार्य (अभिनय, गायन, वादन, नृत्य, भिडियो वा चलचित्रको काम, डेकोरेशन, ड्रेस डिजाइनिङ) जस्ता काम अथवा उपहार वा मनोरञ्जनका सामाग्रीमा राम्रो देखिन्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
बेकरिङ, क्याटरिङ, फास्टफुड, माटोको सामाग्री, औजार, भाँडाकुँडा आदिका व्यवसायी खुसी हुने दिन हो, तर सेवाग्राहीको विश्वास जित्न केही समय लाग्नसक्छ । अनावश्यक चिन्ता सलबलाउने दिन हो, नियमित कामधन्दामा पनि जाँगर लाग्दैन । हरेक काममा सफलता प्राप्त गर्न निकै खट्नुपर्ने समय छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
व्यक्तित्व निर्माणको समय हो, प्रतिस्पर्द्धा बढ्दै गएको विचार गरी कुनै ज्ञानमूलक क्रियाकलापमा दिलचस्पी राख्नु र अझ धेरै मिहिनेत गर्नु राम्रो हुन्छ । सँगीसाथी र प्रियजनहरू जीवनका महत्त्वपूर्ण पक्ष हुन्, त्यसैले व्यक्तिगत जिम्मेवारी र हार्दिकताका बीचमा सन्तुलन राख्न प्रयास गर्नुपर्ने दिन हो ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
बुढाबुढीको सेवा गर्दा भाग्य बढ्ने दिन हो, तर पनि एक किसिमको जमघट र रामरमाइलोमा सरिक हुँदा मन प्रसन्न नै रहनेछ । अध्ययन÷अध्यापनका दृष्टिले कमजोर समय छैन, मिहिनेतको उत्कृष्ट नतिजा मिल्नेछ, तर पनि गेम र इन्टरनेटमा झुम्मिने हुँदा पढाइ बिथोलिन सक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
मिहिनेतको राम्रो नतिजा प्राप्त हुने समय हो, सोचेको उपलब्धी हात पार्नाले साथीभाइ र अभिभावकका बीचमा आत्मसम्मान झल्किने अवसर मिल्नेछ । परिश्रमको प्रतिफल पाउने समय हो, यसबाट तपाईंको शक्ति र प्रतिष्ठामा बृद्धि हुनसक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
एकआपसमा भेटघाट हुने र रमाउने वेला छ, तर बोल्दा निकै विचार पुर्याउनु होला, नत्र ससाना कुरामा पनि नोकझोक बढ्न सक्छ । विधि र नियमको पालना गर्नुपर्छ, गलत तरिकाले धन कमाउने वा सुख खोज्ने जमर्को गर्नु भयो भने फन्दामा पर्न सक्नुहुन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
पार्टनरबाट कुनै कुराको अपेक्षा गरेको जाती हुन्छ, कुनै व्यक्तिगत समस्या छ भने पनि बताएमा सही निकास पाउन सक्नुहुन्छ । नेटवर्किङको क्षेत्र वा सामाजिक सम्बन्धमा विस्तार हुनेछ । दृढ़ इच्छा शक्ति कायम राख्दा विपरीत परिस्थितिमा पनि विवेक गुम्दैन र समुचित काम बन्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मनको हठ र कुण्ठामा भुलिने समय छ, तर पढाइ छाडेर अन्त भुलिनु भविष्य बिगार्ने कुरा हो भन्ने हेक्का राख्नुपर्छ । कामधाममा भन्दा पनि कल्पना र भावनामा केन्द्रित भइने छ । घरपरिवार वा छरछिमेकीका सानातिना जिम्मेबारी बोक्नुपर्ने हुन्छ, बढी खर्च हुने परिस्थिति छ, त्यसैले आर्थिक कारोबारमा सतर्कता अपनाउनु पर्छ ।