आज वि.सं. २०८० कार्तिक १३ गते सोमवार तदनुसार ई. सं. २०२३ अक्टोबर ३० तारिख, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४५, चन्द्रास्त : बिहान ०७:०९ बजे र चन्द्रोदय : बेलुका ०६:२१ बजे, सूर्योदय : बिहान ०६:१३ बजे र सूर्यास्त : साँझ ०५:२० बजे, कार्तिक कृष्णपक्ष (कौलागा) द्वितीया तिथि, मध्यरात्रीपूर्व ११:३८ बजेसम्म, त्यसपछि तृतीया तिथि, भरिणी नक्षत्र, बिहान ०६:२५ बजेसम्म, त्यसपछि कृतिका नक्षत्र, भोलि बिहान ०६:१३ बजेसम्म, अन्तिममा रोहिणी नक्षत्र (नक्षत्र टुटेको दिन) चन्द्रमा मेष राशिमा, दिउँसो १२:२२ बजेसम्म, त्यसपछि बृष राशिमा

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आत्मबल बढ्ने छ, नयाँ ज्ञान प्राप्त गर्ने वा विगतको सिकाइ अनुभवको प्रयोग गरी अघि बढ्ने समय हो । धन वा प्रतिष्ठाको बृद्धिका लागि चालेका हरेक प्रयास सफल हुनेछन् । आत्मोन्नति र व्यक्तित्व विकासका लागि प्रयास गर्ने समय हो । त्यस्तै घरायसी सुखसुविधा, अचल सम्पत्ति र वाहनसुखका बारेमा समेत ध्यानकेन्द्रित हुनसक्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मन भोगविलास र रमझमप्रति आकर्षित बन्नसक्छ, घरपरिवारमा सम्पर्क हुने र पतिपत्नी वा प्रेमीप्रेमिकाका बीचमा भलाकुसारी हुने वा निकटता बढ्ने समय हो । कार्यक्षेत्रमा आफैं खटेको जाती हुन्छ, सहयोगीले विश्वासघात गर्ने समय हो, असचेत हुँदा व्यापारमा अचानक मन्दी छाउने सम्भावना देखिन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
दाजुभाइ र बन्धुबान्धवका बीचमा उन्नति/प्रगतिको चर्चा हुनेछ, तपाईंको परिश्रमको प्रशंसा हुने वा कमजोरीको विश्लेषण गर्दै सुझाव प्राप्त हुने समय छ । बौद्धिक सामर्थ्यका आधारमा समान विचारधारा भएका व्यक्तिहरू आकर्षित बन्नेछन्, मित्रताका वा साझेदारीका लागि अनुकूल समय छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
व्यवसायिक कामको चाप बढ्नसक्छ अथवा कुनै कामका लागि टाढा जानुपर्ने बाध्यता हुनेछ, यद्यपि एकआपसमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । सरकारी कामकाज वा प्रशासनिक समस्या देखिएका छन् भने कागजपत्र मिलाउन उपयुक्त समय छ । सँगीसाथी र सहयोगीले तपाईंको काममा सहयोग गर्नेछन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
अर्काको सहयोग गर्न पाउँदा वा परोपकारी काममा सन्तुष्टि बढ्ने समय हो, मनमस्तिष्क नै धर्म, अध्यात्म र जीवनसम्बद्ध उच्च दर्शनतर्फ आकृष्ट हुनेछ । परिश्रम र मिहिनेत गरेअनुरूप भाग्यबृद्धि गर्ने दिन हो, धार्मिक वा आध्यात्मिक विषयको कुनै जानकारी प्राप्त गरेमा समेत ज्ञानबृद्धिमा सघाउ पुग्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
परीक्षा र प्रतिस्पर्द्धामा सामेल हुने हो भने गोपनीयतामा जोड दिनुहोला, अनि एक्लै वा एकान्तमा बसेर तैयारी गरेको राम्रो हुन्छ । आवेग र रिसरागमा नियन्त्रण राखी खासगरी ड्राइभिङका क्रममा घुम्ती र मोडमा सावधानी अपनाउनु होला । आजको दिन आफूले गल्ती नगरे पनि अरुको लापरवाहीको सजाय व्यहोर्नुपर्ने समय छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
साथीभाइसँगको मनुमुटावका कारण मन उदासीन बन्ने दिन हो, गुप्त र रहस्यमय सुख प्राप्त गर्ने महत्त्वाकाङ्क्षामा अङ्कुश लगाउनु बेस हुनेछ । सधैंभन्दा बढी व्यस्त हुने समय हो, खटेअनुसार फाइदा हुनेछ, तर आजको केही समय जीवनसाथी वा छोराछोरीका लागि छुट्याउनु ठीक हुन्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
ताकेको काम सम्पन्न हुनेछ, तर सानातिना विवादको बेवास्ता गर्दै अघि बढ्नुपर्छ । शत्रु र प्रतिद्वन्द्वीसँग सतर्क रहने समय हो, त्यस्तै रिस र घमण्ड बढ्नाले पनि अप्ठ्यारोमा पर्न सकिन्छ । कार्यक्षेत्रभन्दा बाहिरको जिम्मेबारीमा खट्नुपर्ने दिन हो, तथापि औपचारिक र अनुशासित तवरले दिन बित्नेछ, जुन सहकर्मी र स्टाफहरूलाई नौलो लाग्नसक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
बुद्धिकौशल अर्थात् ट्रिकको प्रयोग गरी सफलता कमाउने दिन हो, समस्यामूलक कुनै काम छन् भने सिनियर स्टाफको होइन, जुनियर साथीको सहयोग लिनुपर्छ । कल्पना र भावना साकार हुने दिन हो । आफ्ना कुरा थोपर्नेमात्र होइन, लवमेटका कुरा सुनेमा पनि सन्तुष्टि लिन सकिने छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
हाँके/ताकेको कुनै काम रोक्नुपर्ने हुन्छ । नयाँ लगानीका लागि उपयुक्त समय होइन, बरु वातावरण र परिस्थितिमा केन्द्रित हुनुपर्ने समय हो । दाम्पत्यजीवन सुखद रहने एवं परिवारमा सुखशान्ति र सम्मृद्धि छाउने राम्रो समय छ, तर बुढाबुढी र बुजुर्ग सदस्यको भावनाको कदर गर्नुहोला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
खटेअनुसार फाइदा बटुल्ने दिन हो, अझ रासायनिक वस्तुहरू, पेट्रोलियम, रङ र पेन्टिङको कारोबार छ भने बढी लाभ लिन सकिने छ । सँगीसाथी वा आत्मीयजनसित भेटघाट हुने वा सहकार्यमा कुनै काम सम्पन्न हुने समय छ, पारिवारिक माहौल र आर्थिक पक्षसमेत सुदृढ देखिन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
उपहार वा धन प्राप्त हुने दिन हो, त्यस्तै सिनियर कर्मचारी वा हाकिमसमेत खुसी हुनेछन् । कुनै काम फुत्काउनु छ भने प्रयास गर्नुहोला । व्यक्तिगत खुसीका लागि कुनै कुरामा खर्च बढ्ने समय हो, आर्थिक पक्ष कमजोर भएमा पार्टनरको सहायता लिन सकिने छ । सामाजिक र परोपकारी काममा मन जानेछ ।