मंसिर १३, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आन्शिक प्रभाव रहेको छ । हाल देशको कोशी प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।

महाशाखाका अनुसार आज बुधबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
यस्तै राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
महाशाखाले देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना रहेकोले वर्षा, हिमपात र देशभरिको तापक्रम गिराबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैलाई अनुरोध गरेकाे छ।