• २०८३ बैशाख ४ गते शुक्रवार

नेपालकाे विजयी सुरुवात, मंगोलिया २७३ रनले पराजित

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असोज १०,काठमाडौं ।  नेपालले एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा विजयी सुरुवात गरेकाे छ । नेपालले मंगोलियालाई २७३ रनले पराजित गरेकाे छ ।

चीनको हांग्जाउमा भएकाे खेलमा नेपालले दिएकाे ३ सय १५ रनको विश्व कीर्तिमानी लक्ष्य पछ्याएकाे मंगोलिया १३.१ ओभरमा ४१ रन बनाउँदै अलआउट भयो । यो टि२० आई इतिहासकै सबैभन्दा ठूलो जित हो ।

मंगोलियालाई सस्तैमा समेट्न करन केसी, अभिनाश बोहरा, सन्दीप लामिछानेले समान दुई तथा सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान एक विकेट लिएका छन् ।

यसअघि मंगोलियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतीमा ३ सय १४ रन बनाएको थियो ।

नेपालका कुशल मल्लले ५० बलमा ८ चौका र १२ छक्कासहित १ सय ३७ रनको अविजित इनिङ खेले । कुशलले ३४ बलमै शतक प्रहार गरेका थिए । योसँगै कुशल टि२० आई इतिहासमा सर्वाधिक छिटो शतक प्रहार गर्ने ब्याटर बनेका छन् । यसअघि टि२० आईमा सर्वाधिक छिटो शतक ३५ बलमा थियो ।

दीपेन्द्रसिंह ऐरी १० बलमा ८ छक्कासहित ५२ रनमा क्रिजमा नटआउट रहे । दीपेन्द्रले ९ बलमै अर्धशतक प्रहार गरेका थिए । यसअघि भारतका युवराज सिंहले १२ बलमा अर्धसतक बनाएर राखेको कीर्तिमान नेपाली क्रिकेटर ऐरीले तोडेका हुन् ।

कप्तान राहित पौडेल २७ बलमा २ चौका र ६ छक्कासहित ६१ रनमा आउट भए । तेस्रो विकेटका लागि कुशल मल्ल र रोहित पौडेलले १ सय ९३ रनको साझेदारी गरेका थिए । कुशल भुर्तेल १९ र आसिफ शेख १६ रनमा आउट भएका थिए ।

मंगोलियाकाे याे पहिलो अन्तर्राष्ट्रिय क्रिकेट खेल हाे ।

Sharing

प्रतिक्रिया दिनुहोस