• २०८३ असार १२ गते शुक्रवार

केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप : आर्मीलाई हराउँदै सातदोबाटो फाइनलमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

फागुन १५, काठमाडौं । सातदोबाटो युथ क्लब केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । एन्फा कम्प्लेक्समा सोमबार त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा ६-५ गोल अन्तरले हराउँदै सातदोबाटो उपाधि नजिक पुगेको हो ।

निर्धारित ९० मिनेटको गोलरहित बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा सातदोबाटोले बाजी मार्यो। पेनाल्टीमा सातदोबाटोका सुदिप गुरुङ, अब्दुल अबुबकारी, एकराज बुढाथोकी, विलियम एसीडोउ, सुरज गुरुङ, पासाङ लामाले गोल गरे ।

दिपक राज ठकुरीको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले उत्कृष्ट बचाउ गरे । आर्मीका दिनेश हेन्जन, टेक बहादुर बुढाथोकी, सेसेहाङ आङदेम्बे, नवयुग श्रेष्ठ र दिपक गुरुङले गोल गरे । सुदिल राईको प्रहार सातदोबाटोका गोलकिपर अविशेक बरालले बचाए भने विकास खवासको प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो ।

अब फाइनलमा सातदोबाटोले आयोजक केपी ओली एफसी र मछिन्द्र फुटबल क्लबबीचको विजेतासँग खेल्नेछ । दुई टोलीबीचको सेमिफाइनल खेल आइतबार वर्षाले प्रभावित गरेको थियो । एन्फा कम्प्लेक्समा दोस्रो हाफको खेल चलिरहदाँ मेघगर्जन सहित वर्षा भएपछि खेल रोकिएको थियो । दुई टोलीबीचको खेल दोस्रो हाफबाट पुन: आज खेलाईएको हो ।

राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका सर्बोत्कृष्ट खेलाडीले १ लाख नगद पाउने छन् । त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदयमान खेलाडीले ५० हजार पाउने छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस