बैशाख १३, काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले पछिल्लो समय चलचित्रहरु निर्माताहरुले सञ्चार माध्यमहरुलाई पन्छाउन अर्थात ‘वायस’ गर्न खोजिरहेको आरोप लगाएको छ । बुधबार चलचित्र बिकास बोर्डमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समिर बलामीले पछिल्लो समय चलचित्रहरुले मिडियालाई वायस गर्न खोजिरहेको भन्दै यसको विरुद्धमा पत्रकारहरु लाग्नु पर्ने बताए ।

उनले चलचित्र क्षेत्रलाई विकासका लागि चलचित्र पत्रकार संघ आवश्यक भएको हुनाले संघ र चलचित्र जगतबीचको सम्बन्ध राम्रो बनाउदैँ लानुपर्ने बताए । उनले भने, पत्रकार विना, चलचित्र नचल्ने अवस्था हुन्छ । यस्तो अवस्था आउन नदिन हाम्रो सम्बन्ध राम्रो रहोस । पछिल्लो समय चलचित्रहरुले मिडियालाई वायस गर्न खोजिरहेको छ, यसको विरुद्धमा पत्रकारहरु लाग्नु पर्छ । चलचित्र संघ र चलचित्र पत्रकार संघ मिलेर अन्तरक्रिया कार्यक्रम गर्नुपर्छ । अध्यक्ष बलामीले नेपाली मात्र नभई जातीय चलचित्रलाई पनि प्राथमिकतामा राखेर लानुपर्ने भन्दै चलचित्र क्षेत्रको विकासको लागि सञ्चारजगतको तर्फबाट सक्दो कामहरु गर्दै जाने बताए ।
पत्रकार सम्मेलनमा आगामी जेष्ठ ७ गते हुने सम्मान तथा पुरस्कार वितरणको कार्यक्रमको बारेमा जानकारी दिइएको थियो ।
पत्रकार सम्मेलनमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र पत्रकार संघ नेपालले आयोजना गर्न लागेको कार्यक्रममा सधैँ सहयोग गर्न तयार रहेको बताए । उनले मन्त्रालयमा चलचित्र ऐनको लागि पहल भएको भन्दै मन्त्रालय र मन्त्रीले यसलाई सक्दो छिटो कार्यान्वयन गर्न सकारात्मक रहेको बताए । यस्तो काममा कलाकार र प्रविधिका साथीहरु एकअर्कासँग हातेमालो गर्दै मिलेर अगाडि बढ्नुपर्ने पनि अध्यक्ष केसीको भनाइ थियो ।