बैशाख १३, जनकपुर । मधेश प्रदेशका निर्माण व्यवसायीहरुले, मधेस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिवलाई कार्यालयमा थुनेका छन् । आफ्नो विभिन्न योजनाहरुको काम सम्पन्न गरेपनि हालसम्म भुक्तानी नदिएको भन्दै १० जनाभन्दा बढीको संख्यामा पुगेका निर्माण व्यवसायीहरुले, मन्त्रालयका सचिव कृष्णकुमार मिश्रलाई बुधबार मन्त्रालयकै कार्यकक्षमा थुनेका हुन ।

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयका विभिन्न योजना अन्तर्गत विकास निर्माणको कामहरु सम्पन्न गरेपनि भुक्तानी अहिलेसम्म नपाएको भन्दै मन्त्रालय पुगेका व्यवसायीले सचिवको कार्यकक्षमा ताला लगाउनुको साथै मुल ढोकामा फोहोर फालेर बिरोध जनाएका छन । काम सम्पन्न गरेको वर्षौं बितिसकेको अवस्थामा अब बैंकको ब्याज तिर्नसमेत समस्या भइरहे पनि भुक्तानीका लागि प्रदेश सरकारले चासो नदेखाएको निर्माण व्यवसायी खुशीलाल ठाकुरले गुनासो गरे।
विभिन्न ३८ वटा योजनाको मात्रै ६० करोड रकम भुक्तानी गर्न बाँकी रहेको निर्माण व्यवसायीको भनाई छ । मधेश प्रदेश सरकारले विभिन्न उपभोक्ता समितिको करिब १ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको बताइएको छ ।