माघ १२, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुभकामना दिएकी छन् । सन्देशमा वसन्तपञ्चमी तथा सरस्वती पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा बालबालिकाप्रति शुभकामना व्यक्त गरिएको छ ।
राष्ट्रपति भण्डारीले यस दिनमा गरिने वसन्त श्रवण र सरस्वती पूजा औपचारिकता मात्र नभई हाम्रो जीवनलाई सदैव ऊर्जाशील बनाइराख्ने र नवीन सिर्जनाका लागि प्रेरित गरिरहने अवसर पनि हो भन्दै यस पर्वका माध्यमबाट मौलिक संस्कृतिको संरक्षण एवं संवद्र्धनका साथै मुलुकको सामाजिक तथा सांस्कृतिक विविधताबीच एकता कायम गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने समेत योगदान पुग्ने विश्वास व्यक्त गरेकी छन् ।
यस दिन ललितपुरको लेलेमा रहेको सरस्वतीकुण्ड, काठमाडौँको नील सरस्वती मन्दिर र भक्तपुरको सरस्वती खेलमा रहेको सरस्वतीको मन्दिर, स्वयम्भुको सरस्वती मन्दिरलगायत क्षेत्रमा विशेष मेला लाग्ने गर्छ । काठमाडौँको वसन्तपुरमा रहेको हनुमानढोकाभित्रको नासलचोकमा राष्ट्र प्रमुखको उपस्थितिमा वसन्त श्रवणको आयोजना गर्नुका साथै विभिन्न स्थानमा रहेका सरस्वतीका मन्दिरमा पूजाअर्चना गर्ने गरिन्छ । यस दिनलाई अत्यन्तै शुभ दिन मानिने हुनाले विभिन्न धार्मिक अनुष्ठान बिहे, व्रतबन्ध, पास्नीलगायतका शुभकार्यका लागि साइत जुराइरहनु नपर्ने मान्यता छ। त्यस्तै बालबालिकालाई अक्षरारम्भ गर्न, नाक, कान छेड्न पनि यसै दिनलाई उपयुक्त साइत मानिने गरिन्छ।