पौष ९, काठमाडौं । धनगढी एफसी नेपाल सुपर लिग एनएसएलको फाइनलमा प्रवेश गरेको छ । सोमबार दशरथ रंगशालामा पोखरा थन्डर्सलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै धनगढी प्रतियोगिताको फाइनल प्रवेश गरेको हो ।

निर्धारित र अतिरिक्त समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा भएको थियो । निर्धारित र अतिरिक्त समयको खेलमा दुई पटक खेलमा पुनरागमन गर्न सफल भएको धनगढीले टाइब्रेकरमा समेत उत्कृष्ट कमब्याक गर्न सक्यो ।
खेलमा पोखराले पाचौं मिनेटमा आयुश घलानको गोलमा लिएको थियो । दोस्रो हाफको ५५ औं मिनेटमा देबेन्द्र तामाङले धनगढीका लागि बराबरी गोल गरे । थपिएको अतिरिक्त समयमा स्टेफन कोजो पापाले पोखरालाई पुन खेलमा अग्रता दिलाएका थिए । अतिरिक्त समयको अन्तिम मिनेटमा धनगढीका अहमद हिजाजीले गोल गर्दै खेललाई पेनाल्टी सुटआउटमा पुर्याए ।
लिग चरणको खेलमा दुवै टिमले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका थिए । पोखरा पहिलो र धनगढी दोस्रो स्थानमा रहदै पहिलो क्वालिफायर म्याचका लागि छनोट भएका थिए । पोखराले एक मौकाको रुपमा इलिमिनेटर राउण्डबाट आउने टिमसँग दोस्रो क्वालिफायरमा खेल्नेछ ।
इलिमिनेटर राउण्डमा तेस्रो स्थानको काठमाडौं रेजर्स र चौथों स्थानको ललितपुर सिटी एफसी भिड्नेछन् । इलिमिरेटर राउण्डको खेल भोलि दशरथ रंगशालामा साँझ साढे ५ बजे हुनेछ ।