• २०८३ असार २ गते मङ्गलवार

‘क्रिसमस डे’ले सामाजिक सद्भावलाई बलियो बनाउन भूमिका खेल्नेछ : प्रधानमन्त्री

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

पौष ९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बीलाई शुभकामना दिएका छन्। शुभकामना सन्देशमा उनले क्रिसमस पर्वले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई अझ बलियो बनाउने भूमिका खेल्ने विश्वास लिएको बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले आज जारी गरेको सन्देशमा नेपालको संविधानले बहुसांस्कृतिक विविधतालाई सम्मान गर्दै मौलिक हकका रूपमा सुनिश्चित गरेको विभिन्न जात, जाति, धर्म, भाषा, संस्कृति र सम्प्रदायबिच पारस्परिक सद्भाव, सहिष्णुता र ऐक्यबद्धता कायम गरी राष्ट्रिय एकता प्रवर्द्धन गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन्।

२१औँ शताब्दीको भूमण्डलीकरणको आधुनिक युगमा देश, भूगोल, भाषा, संस्कृति र आस्थाका दृष्टिले सिङ्गो मानव जाति नै गहिरो अन्तर्घुलनतर्फ उन्मुख भइरहेको प्रधानमन्त्री दाहालले आफ्नो सन्देशमा उल्लेख गरेका छन्।

उनले राष्ट्रिय एकता र धार्मिक सहिष्णुतासहितको नेपाली मौलिक साझा राष्ट्रिय संस्कृतिको निर्माणमा ऊर्जा प्रदान गर्ने अपेक्षासहित क्रिसमस पर्वले सङ्कीर्ण घेराहरू तोडेर बृहत्तर राष्ट्रिय हित र मानव जातिको कल्याणका निम्ति सबैलाई प्रेरित गर्दै आएको बताएका छन् ।

शुभकामना सन्देश : इसाई धर्मावलम्बीहरुको मुख्य पर्व क्रिसमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरुप्रति सुस्वास्थ्य दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।
नेपालको संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधतालाई सम्मान गर्दै जुनसुकै धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो आस्थाअनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने हकलाई मौलिक हकको रुपमा सुनिश्चित गरेको छ । विभिन्न जात, जाति, धर्म, भाषा, संस्कृति र सम्प्रदायबीच पारस्परिक सद्भाव, सहिष्णुता र ऐक्यवद्धता कायम गरी राष्ट्रिय एकता प्रवर्धन गर्नु हामी सबैको साझा जिम्मेवारी हो । क्रिसमस पर्वले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई अझ बलियो भूमिका खेल्ने मैले विश्वास लिएको छु ।
२१ औं शताब्दीको भूमण्डलीकरणको आधुनिक युगमा देश, भूगोल, भाषा, संस्कृति र आस्थाका दृष्टिले सिङ्गो मानव जाति नै गहिरो अन्तर्घुलनतर्फ उन्मुख भइरहेको छ । क्रिसमस पर्वले हाम्रा संकीर्ण घेराहरु तोडेर बृहत्तर राष्ट्रिय हित र मानव जातिको कल्याणका निम्ति हामी सबैलाई प्रेरित गर्दै आएको छ । यसलाई अझ समुन्नत र परिस्कृत तुल्याउनु सबै धार्मिक समुदायको समेत कर्तव्य हुन आउँछ ।
अन्त्यमा, राष्ट्रिय एकता र धार्मिक सहिष्णुतासहितको नेपाली मौलिक साझा राष्ट्रिय संस्कृतिको निर्माणमा उर्जा प्रदान गर्ने अपेक्षासहित सम्पूर्ण क्रिश्चियन धर्मावलम्बी लगायत सम्पूर्ण नेपालीहरुमा फेरि एकपटक हार्दिक शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।

May be an illustration of text

Sharing

प्रतिक्रिया दिनुहोस