• २०८३ साउन १३ गते बुधवार

बाँकेमा सुरक्षा व्यवस्था कडा

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

कात्तिक ८, बाँके । दुर्गाभवानीको मूर्ति (प्रतिमा)विसर्जनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालय बाँकेले सुरक्षा व्यवस्था कडा बनाएको छ । मूर्ति विसर्जनलाई सभ्य बनाउन नेपालगन्जको सुरक्षाव्यवस्थालाई कडा पारिएको र त्यसका लागि जिल्लामा करिब एक हजार पाँच सय सुरक्षाकर्मी परिचालन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो ।

उहाँले सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिएका ३१ स्थानमा केन्द्रित गरेर बढी सतर्कता अपनाइएको बताउनुभयो । ती स्थानमा १२ घण्टा अघिदेखि नै सुरक्षाकर्मी परिचालन गरेर निगरानी बढाइएको छ । सुरक्षालाई थप चुस्त दुरुस्त बनाउन नेपाल भारत नाकामा पनि विशेष सतर्कता अपनाइएको छ ।

भारतबाट आउने भारतीय परिचयपत्र भएका नागरिकलाई आवश्यक काम बाहेक आज एक दिनका लागि आउन कडाइ गरिएको छ । जिल्लाको सुरक्षा व्यवस्था चुस्त पार्नका लागि नेपाल प्रहरी र सशस्त्रप्रहरीको एकएक वटा कमान्ड पोस्ट स्थापना गरिएको छ । नेपालप्रहरीको १६ वटा मोबाइल टोलीद्वारा २४ सै घण्टा गस्ती गरिने व्यवस्था गरिएको छ । दुई जना प्रहरी निरीक्षकको कमान्डमा स्कर्टिङ ड्युटी परिचालन गरिएको र आकस्मिक उद्धार र मद्दतका लागि १० वटा क्विक रेस्पोन्स समूह तयारी अवस्थामा राखिएको प्रजिअ पोखरेलले बताउनुभयो ।

सुरक्षाअवस्थालाई दृष्टिगत गर्दै जिल्लामा नागरिकलाई सुरक्षा प्रदान गर्न नेपाल प्रहरीका एक हजार १३ जना र सशस्त्रप्रहरीका ४९५ जना गरी कुल एक हजार ५०८ सुरक्षाकर्मी प्रत्यक्ष रूपमा परिचालन गरिएको जिल्लासुरक्षा समिति बाँकेले जनाएको छ । अहिले मूर्ति विसर्जन गरी यहाँको राप्ती नदीतर्फ सेलाउनका लागि लगिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस