साउन ९, बागलुङ । बागलुङको वडिगाड गाउँपालिका–६ मा रहेको आशा होटलमा वरिष्ठ प्रहरी नायब निरीक्षक उज्ज्वल पौडेल मृत भेटिएको विषयमा अनुसन्धान सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख, प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काको समूहले घटनाका विषयमा अनुसन्धान थालेको हो ।
सोमबार राति १२ बजे आशा होटल तथा खाजा घरमा पौडेल मृत भेटिनुभएको थियो । घटनाको जानकारी पाएलगत्तै अनुसन्धानका लागि सदरमुकाम बागलुङ बजारदेखि हिँडेको प्रहरी टोली मङ्गलबार बिहान ११ बजे मात्रै घटनास्थल पुगेको थियो ।
‘इलाका प्रहरी कार्यालयले होटल सिल गरेर राखेको थियो, हामी आएपछि परिवार बोलाएर बाँकी अनुसन्धानको काम थालेका छौँ,‘ प्रहरी उपरीक्षक खड्काले भने, “घटनाबारे छिट्टै जानकारी बाहिर आउँछ ।” इलाका प्रहरी कार्यालय भीमगिठेका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेल नजिकैको सो होटलमा मृत फेला परेका थिए । पौडेलको शव होटलकाले भुइँतल्लामा भुइँमा लडेको अवस्थामा रहेको खड्काले बताए। प्रहरी चौकी खारको टोलीलाई लिएर पौडेल गस्तीमा निस्केको प्रहरीचौकीले जनाएको छ । राति १० बजे अन्य प्रहरी जवानलाई कार्यालय पठाई आफू भीमगिठे जाँदै गर्दा होटलमा खाजा खान पसेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
अनुसन्धानको सिलसिलामा होटल सञ्चालक आमा र छोरा पक्राउ
बडिगाड गाउँपालिका-६ खालबजारस्थित आशा होटल तथा खाजा घरमा प्रहरी वरिष्ठ नायव निरीक्षक उज्वल पौडेल गएराति मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको सिलासिलामा होटल सञ्चालक ४५ वर्षीया आशा कुँवर र उनकै छोरा २० वर्षीय बिनोद कुँवरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । नगर प्रहरी कार्यालय बागलुङ दरबन्दी भई ईलाका प्रहरी कार्यालय भिमगिठ्ठे बागलुङमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक पौडेल उक्त होटलको भुइँ तलाको कोठामा मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय बागलुङबाट तत्काल खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।
