आज वि.सं. २०८० कार्तिक ०७ गते मङ्गलवार तदनुसार ई. सं. २०२३ अक्टोबर २४ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४५, चन्द्रोदय : दिउँसो ०१:२६ बजे र चन्द्रास्त : मध्यरात्रीपछि ०१:२७ बजे, सूर्योदय : बिहान ०६:०९ बजे र सूर्यास्त : साँझ ०५:२५ बजे, आश्विन शुक्ल (दुर्गा) पक्ष (कौलाथ्व) दशमी तिथि, दिउँसो १२:५२ बजेसम्म, त्यसपछि एकादशी तिथि, धनिष्ठा नक्षत्र, दिउँसो ०२:१४ बजेसम्म, त्यसपछि शतभिषा नक्षत्र, चन्द्रमा कुम्भ राशिमा (अहोरात्र व्याप्त)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
सरकारी काम, ठेकापट्टा आदिमा अड्किएको काम फुकाउन सकिने समय हो, प्रयास गरेमा अन्य काममा समेत लाभ पाउने समय हो । दाजुभाइ र दिदीबहिनीसँग सहायता आदान/प्रदान गर्ने समय हो । काम छैन भने पनि माइतीपक्षसँग सम्पर्क गरी खैखबर बटुल्नु राम्रो हुन्छ । रिजल्टको प्रतीक्षामा हुनुहुन्छ भने आशाअनुरूप परिणाम प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
व्यक्तिगत प्रतिष्ठा र वर्चस्व स्थापना गर्न सकिने राम्रो समय छ । राजनीति वा समाजसेवा नै तपाईंको कार्यक्षेत्र हो भने त पदप्रतिष्ठा र सम्मानले तपाईंको प्रतीक्षा गरिरहेको परिस्थिति देखिन्छ । हाकिमको सद्भाव र सहानुभूति प्राप्त हुनाले महत्त्वाकाङ्क्षी काम सुरु गर्न सकिन्छ । कार्य सम्पादनमा निखार आउनाले थप अवसर मिल्नसक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
मित्र र सहयोगीहरूबाट लाभ मिल्नेछ । बहुप्रतीक्षित इच्छा र आकाङ्क्षाले पूणर्ता पाउनेछन् र लामो दूरीको यात्रा लाभदायक रहनेछ । हाँके/ताकेको लक्ष्यमा पुग्न सफल भइने छ, नयाँ कार्यको थालनी हुने वा सानो प्रयत्नले नै ठूलो सफलता मिल्नसक्ने समय छ । अर्काको सहयोग गर्न पाउँदा वा परोपकारी काममा सन्तुष्टि बढ्ने समय हो।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
वातावरण तपाईंको विपक्षमा भएको दिन हो, आफ्नो कर्तव्य र दायित्वप्रति सचेत भई पठनपाठनमा अझ लगाव देखाउनु ठीक हुन्छ । बढ्दो ऋणभार र खर्चबृद्धिले तनावमा राख्नसक्छ, आज सकेसम्म आफैलाई रिफ्रेस गर्ने र बाधाहरूबाट बाहिर निकाल्ने समय हो । अल्छी गर्ने होइन, विपरीत परिस्थितिलाई जितेर अघि बढ्ने प्रयास गर्नुहोला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मस्ती गर्ने समय हो, पार्टनरको भावनालाई कदर गर्दै आज कतै रेस्टुरेन्ट वा भोजनालयमा गएर समय बिताउनु राम्रो हुन्छ । आज आकस्मिक लाभ पाउने दिन हो । चिट्ठा, लटरी वा सट्टापट्टाबाट पनि आय हुने सम्भावना छ । समय राम्रो छ, समयको सदुपयोग गर्नुहोला । प्रविधिको प्रयोग गरेर वा अनलाइन गतिविधिमार्फत अतिरिक्त लाभ हुनसक्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
मन र शरीर भारी हुने समय छ, कामकाजमा पनि उत्साहको कमी हुनेछ । कुनै परिचित मान्छेको नराम्रो खबर सुन्दा दिक्क मान्नु हुनेछ । चुनौतीका माझ मोटो रकम हातलागी हुने दिन हो, रातो रङका चिजबीज, लताकपडा, बृक्ष वनस्पति, शैक्षिक प्रतिष्ठान, औषधी र खाद्यान्नका क्षेत्रमा राम्रो देखिन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
सिर्जनात्मक काम गर्नुपर्छ भन्ने भावना विकसित हुने सुन्दर दिनको आगमन भएको छ । हाँके/ताकेका काम बन्नुका साथै ज्ञानमूलक क्रियाकलापमा संलग्नता बढ्ने तथा प्रतिस्पर्द्धा वा परीक्षामा सफल भइने समय हो । गोपनीयता कायम राखी काम गर्न सके कार्यक्षेत्रमा प्रशंसा बटुल्न सकिने छ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
अचल सम्पत्ति, शेयर कारोबार, घरेलु प्रयोजनका वा भोगविलासका सामाग्रीमा फाइदा हुनेछ, आजको केही समय घरपरिवारमा खर्च गरेको जाती हुन्छ । दाम्पत्यजीवन सुखद रहने एवं परिवारमा सुखशान्ति र सम्मृद्धि छाउने राम्रो समय छ, तर बुढाबुढी र बुजुर्ग सदस्यको भावनाको कदर गर्नुहोला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
सँगीसाथी वा आत्मीयजनसित भेटघाट हुने वा सहकार्यमा कुनै काम सम्पन्न हुने समय छ, पारिवारिक माहौल र आर्थिक पक्षसमेत सुदृढ देखिन्छ । अध्ययनमा रुचि जाग्नेछ । मिहिनेतको राम्रो परिणाम प्राप्त हुन्छ । उपलब्धिमा सँगीसाथी, गुरुजन र अभिभावकको समेत महत्त्वपूणर् सहयोग मिल्नेछ । सामाजिक क्षेत्रको काम वा सार्वजनिक हीतको विषयमा सक्रिय हुने मानसिकता बन्नुका साथै करियर परिवर्तन र उच्च शिक्षा पनि प्राथमिकताको विषय बन्नसक्छ, तर जीवनका विभिन्न आयाममा सन्तुलन राख्न प्रयास गर्नुपर्छ । आज ७५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ धरात्मजाय नमः यस मन्त्रलाई कम्तीमा १० पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
गरेको कामको सर्वत्र प्रशंसा हुनेछ, सिनियर स्टाफ र सेवाग्राही दुवै पक्षलाई सन्तुष्ट तुल्याउन सकिने छ । कुनै उपहार वा सम्मान प्राप्त गर्ने सम्भावना छ । सकेसम्म समुचित कार्यका लागि कम बोलेको ठीक हुन्छ, तर बोल्न नपाए पनि हाउभाउ र सङ्केतका आधारमा काम निकाल्न सकिने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
काम जोखिमपूणर् देखिए पनि कार्यसम्पादनमा सहजता हुनेछ, अझ सिनियर वा अनुभवीको साथ पाउनाले आफ्नो कार्यक्षमता र प्रतिभा तिखार्ने अवसर मिल्नेछ । पार्टनरको इच्छा र भावना बुझ्न सकेमा उत्साह बढ्न गई मन चङ्गा हुने दिन छ, रूप सौन्दर्य र व्यक्तित्वमा निखार आउने छ । शत्रु र प्रतिस्पर्द्धीले सामना गर्न सक्दैनन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आर्थिक दृष्टिले कमजोर समय भएकाले हरेक काममा तौलेर खर्च गर्ने दिन हो, आज कुनै योजना कार्यान्वयन गर्न वा नयाँ कुरा किन्न अनुकूल समय देखिंदैन । अल्छीपना देखिन्छ, शरीर भारी भएकाले कुनै पनि काम पूरा नहुन सक्छन्, मानसिक शान्ति र विश्रामप्रति आकर्षित बन्दा राम्रो हुन्छ ।