असोज ७, बारा। जिल्लाको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनीसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । मधेस प्रदेश सरकारको अनुदानबाट सञ्चालित योजनाहरुमध्ये सिम्रौनगढ नगरपालिका–८, कचोर्वास्थित जनता माविको भवन निर्माणमा अनियमितता भएको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धान गरी आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मरासेनी, लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरीले प्राविधिकले तयार गरेको मूल्याङ्कन र भुक्तानीको लागि स्वीकृत भएको टिप्पणीमा उल्लेख भएको भन्दा बढी रकम उपभोक्ता समितिलाई भुक्तानी दिएको आयोगको ठहर छ । उनीहरुले निर्माण कार्यमा भए गरेको परिमाणभन्दा ६ लाख ५८ हजार ४४० रुपैयाँ १६ पैसा बढी भुक्तानी दिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।