भदौ ७, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम र कर्णालीमा निकै महत्वपूर्ण र गौरवको रुपमा मनाईने गौरा पर्वलाई राष्ट्रिय पर्वको रुपमा अगाडि बढाउनुपर्ने बताएका छन्। बिहीबार काठमाडौंको खुल्ला मञ्चमा आयोजित ‘गौरा पर्व २०८०’ विशेष कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले गौरा पर्वलाई कर्णाली र सुदूरपश्चिमको मात्रै नभएर राष्ट्रिय पर्वको रुपमा मनाउनुपर्ने बताए ।

उनले भने, ‘यो गौरा पर्व,डेउडा कल्चर धेरै कुराहरुका लागि सुदूरपश्चिमको लागि प्रसिद्ध मात्रै हैन हाम्रो लागि गौरवको विषय हो । दायाँ वायाँ कुरा छैन्,यसलाई अझै राष्ट्रिय स्तरबाट अगाडि बढाउने सबै काम गरौं ।’ उनले गौरा पर्व मनाउने कुरामा दिन र तिथिमा भिन्न खाले धारणा आउने गरेको भन्दै त्यसको सम्बोधन गर्नको लागि पर्व मनाउने कुरामा एकै खालको सहमति जुटाउन पर्व मनाउने समुदायलाई आग्रह गरे ।
‘गौरा पर्वमा राष्ट्रिय विदा दिने सम्बन्धमा केही अप्ठ्याराहरु छन् । कुन दिनलाई गौरा मान्ने कुन गतेलाई पर्व मान्ने, दिन र तिथिको आधारमा हुन्छ । त्यो चाँही दिन गन्नुपर्ने हुन्छ ।त्यसैले कुन दिनलाई गौरा मान्ने भन्ने कुरामा तपाइँहरु छलफल गरेर मिलाउनुस । प्रधानमन्त्रीलाई अनुरोध गर्न चाहान्छु, त्यहि दिनमा हामी राष्ट्रिय गौरा पर्व मनाउने विदा दिनुहुनेछ प्रधानमन्त्रीले,’ देउवाले भने ।
उनले गौरा मनाउने कुरामा सहमति गरेरै तिथि र दिनको आधारमा मनाउने गरिएको भन्दै राष्ट्रिय पर्वको रुपमा मनाउन स्पस्ट भएर अगाडि जानुपर्नेमा जोड दिए ।