पौष ६, काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा आज भएकाे दाेश्राे खेलमा सुदूरपश्चिम र गण्डकी प्रदेशले पहिलो जित हात पारेको छ । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा जितका लागि पाएको ७२ रनको सामान्य लक्ष्य सुदूरपश्चिम प्रदेशले ९.५ ओभरमा १ विकेट गुमाएर भेट्टायो ।

सुदूरपश्चिमलाई जिताउन नट आउट रहेका कविता जोशीले २४ तथा रेवती धामीले १७ रन बनाए । रुबी पोदारले १४ रन बनाइन् । यसअघि पहिला ब्याटिङ गरेको लुम्बिनी २० ओभरमा ७ विकेट गुमाएर ७१ रन मात्र बनाउन सकेको थियो । लुम्बिनीका लागि सरस्वती पुनले १९ र आश्मा पुन मगरले १६ रन बनाए ।
सुदूरपश्चिमका लक्ष्मी साउदले २ तथा इश्वरी विष्ट, अनु खडायत र रितु कनौजियाले समान १ विकेट लिए । प्रतियोगितामा पहिलो जित हात पारेको सुदूरपश्चिम आफ्नो पहिलो खेलमा एपीएफसँग पराजित भएको थियो । लुम्बिनीले भने पहिलो खेलमा गण्डकी प्रदेशलाई हराएको थियो ।
आज शुक्रबार मूलपानीमा भएको खेलमा कर्णाली प्रदेशलाई ४४ रनले हराउँदै गण्डकीले पहिलो जित दर्ता गरेको हो । जितका लागि १४२ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेशले २० ओभरमा ६ विकेट गुमाएर मात्र ९७ रन बनाउन सक्यो ।
कर्णालीका लागि गौरी बोहराले २६ तथा तिर्सना विश्वकर्माले १९ रन बनाइन् । गण्डकीकी रचना चौधरीले २ तथा सुमन खतिवडा र ज्योत्सना मरासिनीले समान १ विकेट लिए । यसअघि पहिला ब्याटिङ गरेको गण्डकीले ओपनर अञ्जली विश्वकर्मा र ज्योत्सनाको अर्धशतक मद्दतमा १४१ रन बनाएको थियो । १८ रन बनाउँदा ३ विकेट गुमाएको गण्डकीका अञ्जली र ज्योत्सनाले चौथो विकेटका लागि ८४ रनको साझेदारी गरे । अञ्जली ४८ बलमा ५१ रन बनाउँदै १६ औं ओभरमा र ज्योत्सना ४० बलमा ५० रन बनाउँदै खेल सकिन ३ बल बाँकी छँदा आउट भइन् । कर्णालीका यमुना थारु र अञ्जु गुरुङले समान २ विकेट लिए भने रश्मिले १ विकेट हात पारिन् ।
प्रतियोगितामा सहभागी ८ टिमले २-२ खेल खेल्दा एपीएफ र कोशीले समान ४ अंक बटुलेका छन् । सुदूरपश्चिम, गण्डकी,बागमती र लुम्बिनीले समान २ अंक पाएका छन् । मधेश र कणालीले भने दुवै खेल हारेका छन् र उनीहरुले कुनै अंक बटुलेका छैनन् । सहभागी सबै ८ टिमले एक अर्कासँग खेलेपछि शीर्ष ४ टोली अघिल्लो चरणमा पुग्ने छन् ।