आज वि.सं. २०८० आषाढ ०७ गते बिहीवार तदनुसार ई. सं. २०२३ जुन २२ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४४, नेपालमा सूर्योदय : बिहान ०५:११ बजे र सूर्यास्त : साँझ ०७:०० बजे, चन्द्रोदय : बिहान ०८:३१ बजे र चन्द्रास्त : बेलुका ०९:११ बजे, आषाढ शुक्लपक्ष (दिल्लाथ्व) चतुर्थी/चौथी तिथि, दिउँसो ०३:१० बजेसम्म, त्यसपछि पञ्चमी तिथि, अश्लेषा नक्षत्र, मध्यरात्रीपछि ०२:४३ बजेसम्म, त्यसपछि मघा नक्षत्र, चन्द्रमा कर्कट राशिमा, मध्यरात्रीपछि ०२:४३ बजेसम्म, त्यसपछि सिंह राशिमा

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
दाम्पत्यसम्बन्धमा तालमेलको कमी रहने छ, तर घरको वातावरण व्यवस्थित र रमाइलो नै हुनेछ । कुनै गोपनीय कुरा सार्वजनिक हुँदा अप्ठ्यारोमा परिने छ । रमझममा भुलिंदा पढाइ बिथोलिन सक्छ, तर कुनै पाठमा कमजोरी देखिएमा सहपाठी साथीहरू वा शिक्षकको सहयोग लिनु जाती हुन्छ । आक्रामक व्यवहारका कारण आफन्त वा शुभचिन्तकमा गलत प्रभाव पर्नसक्छ, मित्रहरूद्वारा समेत तपाईंको क्रियाकलापको आलोचना हुनसक्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
बढुवा हुने वा थप जिम्मेवारी प्राप्त हुने राम्रो दिन छ, आज आफन्त वा नातागोताको काममा समेत सघाउनुपर्ने परिस्थिति बन्नसक्छ । भावना र मनको कुरो सेयर गर्ने कुनै साथी छ भने ऊ तपाईंप्रति आकर्षित भएको हुनुपर्छ, अतः उसको निकटतालाई नगुमाउनु राम्रो हुन्छ । इष्टमित्र र सँगीसाथीको साथ पाइने छ । यो परोपकारी र साहसी काम गर्ने समय पनि हो, तर भाइबहिनीको इच्छापूर्तिका लागि खर्च बढाउनुपर्ने हुन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
कम्युनिकेसन, विज्ञापन वा मार्केटिङ तपाईंको व्यवसाय बढाउने उत्तम तरिका बन्नसक्छ । मानिसहरूको नकारात्मक प्रतिक्रियालाई बेवास्ता गर्दै आफ्नो कर्ममा ध्यान दिने समय हो । एउटा स्मरणीय आनन्द प्राप्त हुने दिन हो, अझ बोली र व्यवहारमा नम्रताको प्रयोग गर्नुहोस्, केही दिनमा नै घरमा नवीन सुखको आभास हुनेछ । अभिव्यक्ति कौशलमा निखार आउने छ, अध्ययनप्रतिको लगावले व्यक्तित्व विकासको सुअवसर मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
निणर्य क्षमतामा निखार आउनुका साथै कार्यक्षेत्रमा सहजता आउने तथा मनमा रचनात्मक क्षमताको विकास हुने राम्रो दिन छ, पहिचान दिलाउन तथा कलात्मक भावनालाई प्रस्फुटन गर्न समय अनुकूल देखिन्छ । अध्ययनप्रतिको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ, प्रतिस्पर्द्धामा जीत हुनेछ, विगतका कमीकमजोरीमा सुधार गरी प्रयत्न गरेको काममा सफल भइने छ । आफ्नो इच्छानुरूप कार्य गर्न पाउँदा मन प्रसन्न रहनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
अवरोध र बाधा सिर्जना हुने तथा अनावश्यक खर्च बढ्ने समय छ, त्यसैले कुनै पनि जोखिमयुक्त काममा सहभागिता नजनाउनु नै बेस हुनेछ । कारोबारमा झट्ट अर्काको विश्वास गर्ने दिन होइन, सहयोगीमाथि पनि पूणर् भरोसा गर्ने दिन छैन, नत्र आकस्मिक रूपमा नोक्सानी व्यहोर्नुपर्ने हुन्छ । सुखसुविधाका सामाग्रीप्रति आकर्षण बढ्नेछ, तर आर्थिक पक्ष बाधक बन्ने समय हो ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सरकारी काम, ठेकापट्टा आदिमा अड्किएको काम फुकाउन सकिने समय हो, प्रयास गरेमा अन्य काममा समेत लाभ पाउने समय हो । चाहेबमोजिम सबै कामहरू सम्पन्न हुनेछन्, पारिवारिक माहौल पनि ठीकै छ, तथापि अहङ्कार र घमण्डलाई कन्ट्रोल गर्ने समय हो । दाजुभाइ र बन्धुबान्धवका बीचमा उन्नति/प्रगतिको चर्चा हुनेछ, तपाईंको परिश्रमको प्रशंसा हुने वा कमजोरीको विश्लेषण गर्दै सुझाव प्राप्त हुने समय छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
समुचित योजनाका साथ आफ्ना जिम्मेबारी र दायित्वलाई कार्यान्वयन गर्नुपर्छ । रामरमाइलोमा आकर्षण देखिंदैन, बरु कार्यस्थलमा बोझ बढ्ने सम्भावना छ । व्यक्तित्व विकासका दृष्टिले राम्रो दिन छ, सकेसम्म आफ्नो कुरा एवं विचारलाई तर्कसङ्गत रूपले राख्न सकेमा पार्टनरले तपाईंको मनोभाव र विचारको कदर गर्नेछन् । कुटनैतिक क्षमताको उपयोग गर्नाले सम्मान र प्रशंसा पाइने छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
थोरै मात्र प्रयास गरेर आम्दानीको मार्ग बढाउन सकिने भाग्योन्नतिको समय छ । केही समय छरछिमेकीको काममा वा आफन्तका निमित्त छुट्याउनु पर्ने हुन्छ । परिश्रम र मिहिनेत गरेअनुरूप भाग्यबृद्धि गर्ने दिन हो, धार्मिक वा आध्यात्मिक विषयको कुनै जानकारी प्राप्त गरेमा समेत ज्ञानबृद्धिमा सघाउ पुग्नेछ । घरपरिवार, आफन्त र साथीभाइको सहयोग गर्न तत्परता देखाउने समय हो ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
परीक्षा र प्रतिस्पर्द्धामा सामेल हुने हो भने गोपनीयतामा जोड दिनुहोला, अनि एक्लै वा एकान्तमा बसेर तैयारी गरेको राम्रो हुन्छ । मित्र र परिवारसँग सम्बन्धित भावनाले तपाईलाई चिन्तित बनाउन सक्छ, त्यस्तै अप्ठ्यारो र झञ्झटिलो मार्गमा अघि बढ्ने समय हो, तर जोखिम र सङ्कट मोल लिएर गरेको कामको परिणाम लाभदायी हुनसक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
घरपरिवारको आँखा छलेर पार्टनरलाई समय छुट्याउन अप्ठ्यारो पर्नसक्छ, तर कसोकसो भेटघाट, मनोरञ्जन र घुमघामको मेसो मिल्ने दिन हो । आज राम्रा र नयाँ डिजाइनका लुगाफाटा पहिरने सौख जाग्नेछ, आफ्नै लागि वा जीवनसाथीका लागि वस्त्र वा आभूषणादि खरीद गर्ने मनसाय बन्नसक्छ । प्रविधिको प्रयोग गरेर वा अनलाइन गतिविधिमार्फत अतिरिक्त लाभ हुनसक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
प्रेमीको स्वास्थ्यस्थिति वा कार्यक्षेत्रमा समस्या उत्पन्न हुनाले मन निराश बन्नसक्छ, तर पनि मौका मिलाएर भावना साटासाट गर्न पाउँदा शान्तिको अनुभूति हुनेछ । शत्रु र विरोधीहरूसँग डटेर प्रतिस्पर्द्धा गर्ने समय छ । लेखन/सम्पादन, पत्रकारिता, वकालत, कृषिकार्य वा व्यापार गर्नेका लागि राम्रो दिन छ । चुनौतीका माझ मोटो रकम हातलागी हुने दिन हो ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
अलि धेरै मिहिनेत गर्नुपर्ने समय हो, किनभने आजको प्रयासले भविष्यका लागि स्कलरसीप, सहुलियत वा विशेष अवसर प्राप्त हुनसक्छ । भावुक र संवेदनशील बन्न सकिन्छ तर पनि बौद्धिक क्षमता वा सीप बढाउने प्रयत्न गर्नुपर्छ, जस्तै चुनौतीपूणर् काम भए पनि सफलता मिल्नेछ, परीक्षा र प्रतिस्पर्द्धामा विजय प्राप्त हुने दिन हो । थोरै मिहिनेत गर्दासमेत ठूलो सफलता पाउने समय हो, ज्ञान बढाउने प्रयास गर्नुहोस् ।