कात्तिक ३, काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता गर्नको लागि प्रक्रिया अघि बढाएको छ । विदेशमा रहेका नेपाली नागरिकलाई विदेशबाटै मतदाता नामावलीमा नाम दर्ता गर्ने प्रक्रिया अघि बढाएको आयोगले जनाएको हाे ।

यसका लागि आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८० को मस्यौदा सार्वजनिक गरेको छ । सो मस्यौदा आयोगले आफ्नो वेबसाइटमार्फत् कार्यविधिको मस्यौदा सार्वजनिक गरेको छ । मस्यौदामा आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि मुलुक तोकेर उक्त मुलुकको सम्बन्धित कूटनीतिक नियोगबाट दर्ता गर्ने केन्द्र तोक्ने व्यवस्था गरेको आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम पौडेलले बताउनुभयो ।
कार्यविधिको मस्यौदामा रहेका व्यवस्थालगायतका अन्य विषय थप परिमार्जन वा सुधार गर्न सुझाव दिन चाहने विदेश वा स्वदेशमा रहेका नेपाली नागरिक, गैरआवासीय नेपाली संघ तथा अन्य सरोकारवालाले यही कात्तिक मसान्तभित्र आयोगको इमेल ठेगानामा राय सुझाव उपलब्ध गराइदिनुहुन सम्बद्ध सबैलाई अनुरोध गरेको छ ।
विदेशमा रहेका नेपाली नागरिकको मतदाता दर्ता तथा अध्यावधिक कार्यविधि, २०८०