• २०८३ बैशाख ४ गते शुक्रवार

प्रदेश नाामकरण विवादका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ५, काठमाडौं । प्रदेश नामाकरण विवादका कारण प्रतिनिधि सभा सदस्यको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् । बैठकमा २०८०/८१ को बजेटमाथि छलफल जारी छ । मन्त्रालयगत छलफलको क्रममा शहरी विकास मन्त्रालयले पेश गरेको पुस्तिकामा प्रदेशको नामाकरण नराखिएको भन्दै नेकपा एमालेका सांसद सूर्य थापाले आपत्ति जनाएका थिए ।

उनले आपत्ति जनाएपछि शहरी विकास मन्त्री सिता गुरूङले त्यसमा त्रुटि भएको भए सच्याइने बताएका थिए। त्यसमाथि सभामुख घिमिरेले पनि रूलिङ गरेका थिए । तर सांसद थापाले त्रुटि प्रष्ट भएको र त्यसलाई सच्याएरमात्रै संसदमा छलफल अघि बढाउनुपर्ने बताए ।

त्यसैक्रममा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पनि सभामुखले रूलिङ गरिसकेको विषयमा पुनः आपत्ति नजनाउन प्रतिपक्षी दललाई अनुरोध समेत गरेका थिए। तर एमाले सांसद रघुजी पन्तले यसरी प्रत्येक मन्त्रालयले प्रदेशको नाममा त्रुटि गर्न सक्ने भन्दै एकरूपता हुने खालको रूलिङ गर्नुपर्ने माग गरे। त्यस विषय माथि थप छलफल नगर्ने भन्दै सभामुख घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गर्ने जानकारी गराएका हुन्।

Sharing

प्रतिक्रिया दिनुहोस