जेठ ६, काठमाडौँ । तारकेश्वरद्वारा शुक्रबार निर्वाचित भएको एक वर्ष पूरा भएको अवसरमा पत्रकार सम्मेलन आयोजना गरेको छ । नगर प्रमुख कृष्णहरी मर्हजन, उप प्रमुख शृजना बुर्लाकोटी, वडा अध्यक्षहरु, कर्मचारीहरु सहित तारकेश्वर वडा ३ मा रहेको एक होटलमा प्रत्रकार सम्मेलन गरिएको हो ।

तारकेश्वर नगरपालिकाले एक घर, एक धाराका लागि नगरपालिकाभित्रका ११ वटै वडामा पानी ट्याङ्की निर्माण गर्ने भएको र नगरपालिकाभित्रका सबै वडामा २० लाख लिटरका ट्याङ्की निर्माण गरी नगरवासीलाई खानेपानी उपलब्ध गराउने नगरप्रमुख कृष्णहरी मर्हजनले जानकारी दिए । उनले निर्वाचित भएको आज एक वर्ष पूरा भएको छ, निर्वाचित भएसँगै बसेको कार्यपालिका बैठकले गरेको एक घर, एक धारा निर्णय कार्यान्वयन गर्नका लागि प्रत्येक वडामा २० लाख लिटरका पानी ट्याङ्की निर्माण गर्न लागेका जनाएक हुन । अँधेरी खोला र अल्ले खोलाको पानी तारकेश्वरमा ल्याइने उनको भनाइ थियो ।
तारकेश्वरले हाल वडा नं २ काभ्रेस्थलीका चार हजार आठ सय ७५ घरधुरीलाई एक घर, एक धाराअन्तर्गत खानेपानी योजना सुरु गरिसकेको छ ।तारकेश्वरले चालु आर्थिक वर्षमा उपभोक्ता समितिमार्फत एक हजार ८३ वटा योजना र ठेक्कामार्फत २६ वटा योजना सम्झौता गरी कार्यान्वयनमा अगाडि बढेको नगरप्रमुख महर्जनको भनाइ छ ।
प्रदेशस्तरीय योजनाबाट विष्णुमति करिडोर चाँडो निर्माण गर्न लागेको नगरप्रमुख महर्जनले बताए। सो नगरपालिकाले चालु आवमा २८ वटा कार्यपालिका बैठक बसी नगर विकासको लागि जनताकै हितमा हुने गरी निर्णय गरी प्रभावकारी कार्यान्वयन गरिरहेको छ ।
तारकेश्वरले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर वृद्धि गर्नका लागिरु आठ करोड ४६ लाख शिक्षामा बजेट विनियोजन गरेको नगरप्रमुख महर्जनले बताए । “म निर्वाचनबाट नगरप्रमुख भएको एक वर्ष भएको छ, मैले पाउने तलब भत्ता गरिब, निमुखा, असहायका लागि वितरण गर्दै आएको छु”, उनले भने ।
नगरपालिकाकी उपप्रमुख एवं न्यायिक समितिकी संयोजक सिर्जना बुर्लाकोटी अर्यालले नगरपालिकामा बाटो मिचिएको र घरझगडाका मुद्दा बढी आउने गरेको बताइन्। स्थानीय तहमा परेका मुद्दा सकेसम्म स्थानीय तहमा नै टुङ्ग्याउने गरी नगरपालिकाको न्यायिक समितिले काम गरेको उनको भनाइ थियो ।
उनले नगरपालिकामा परेका एक सय १० मुद्दामध्ये ५५ मुद्दालाई फैसला र मेलमिलाप गरेर पठाइएको जानकारी दिइन् । सो नगरपालिकामा गत आवमा ५० मुद्दा र चालु आवमा ६० मुद्दा दर्ता भएका थिए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा कृष्णबहादुर घिमिरेले संविधानले स्थानीय तहलाई दिएको अधिकारका क्षेत्रको सही र प्रभावकारी कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणमा प्रदेश र केन्द्र सरकारसँग सहकार्य गरेर अगाडि बढिरहेको बताए ।
तारकेश्वरलाई जनमुखी बनाउन नगर प्रमुख र कार्यालय प्रमुखबीच कार्यसम्पादन करार सम्झौता सम्पन्न गरिएको उनको भनाइ छ । प्रमुख प्रशासकीय अधिकृत डा घिमिरेले भ्रष्टाचार, बेरुजु, पेश्कीलगायत विषयवस्तुमा शून्य सहनशीलता अवधारणा लागू गरी पारदर्शी, असल सुशासन कायम र सोको प्रभावकारी कार्यान्वयन गरिएको उल्लेख गरे।
नगरपालिकाका सूचना अधिकारी सागर अर्यालले स्थानीय सरकारको पूर्ण अधिकारको सदूपयोग र आवश्यकीय कानुनको तर्जुमालाई प्राथमिकता दिएको उल्लेख गरे। उक्काइस हजार छ सय २३ घरधुरी रहेको सो नगरपालिकामा एक लाख ५१ हजार जनसङ्ख्या रहेको छ ।