आज वि.सं. २०८० आषाढ ०४ गते सोमवार तदनुसार ई. सं. २०२३ जुन १९ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४४, नेपालमा सूर्योदय : बिहान ०५:११ बजे र सूर्यास्त : साँझ ०७:०० बजे, चन्द्रोदय : बिहान ०५:५५ बजे र चन्द्रास्त : साँझ ०७:१४ बजे, आषाढ शुक्लपक्ष (दिल्लाथ्व) प्रतिपदा/परेवा तिथि, बिहान १०:०५ बजेसम्म, त्यसपछि द्वितीया तिथि, आर्द्रा नक्षत्र, बेलुका ०७:३१ बजेसम्म, त्यसपछि पुनर्वसु नक्षत्र, चन्द्रमा मिथुन राशिमा (अहोरात्र व्याप्त)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
धनधान्य र प्रतिष्ठाका दृष्टिले राम्रो दिन छ, साझेदारीमा कुनै व्यवसाय गर्दै हुनुहुन्छ वा कुनै यात्रामा सँगै निस्कँदै हुनुहुन्छ भने साझेदारलाई आफ्ना विचार, इच्छा र आनीबानीका बारेमा खुलेर बताउनु होला । आन्तरिक समस्याका कारण वा फाँटको कामविशेषले सहकर्मी वा जुनियर स्टाफसँग विचार/विमर्श हुने वा कुनै कार्यक्रममा सहभागी भई रामरमाइलो गर्ने दिन हो ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
स्वास्थ्यस्थितिमा देखिएका समस्या समाधान हुने समय हो, तर कुरा काट्ने र शत्रुहरूको गतिविधि बढ्न सक्छ, सचेत हुनुपर्छ । अठोट र निणर्यहरूमा सफलता मिल्नेछ । अचानक कुनै यात्राको योजना पनि बन्नसक्छ, तर त्यसबाट पनि लाभ उठाउन सकिने दिन हो ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
नयाँ कुरा पढ्ने वा सिक्ने रहर जागेर आउने छ । नजानेको विषयवस्तुप्रति केन्द्रित हुन सकेमा उपलब्धि लिन सक्नुहुन्छ । महत्त्वाकाङ्क्षा र अदम्य उत्साह जाग्ने दिन हो । अल्छीपन बढ्न सक्छ, तर याद गर्नुहोला, कल्पना गरेरमात्र केही पनि हुँदैन, प्रतिफल प्राप्त गर्न मज्जाले खट्नुपर्ने हुन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
तालमेल र पारदर्शिता राखेर सम्बन्ध राख्नु ठीक हुनेछ, ससाना कुरा पनि लुकाउने वा छल्ने काम गर्नु हुँदैन, नत्र विश्वासको सङ्कट हुनसक्छ । मनमा ठाउँ परिवर्तन गर्ने वा कार्यक्षेत्र बदल्ने सोच सलबलाउने दिन हो । त्यस्तो आकाङ्क्षा भएमा प्रयास गर्नोस् सफलता हात पर्नसक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
परिवारमा कुनै माङ्गलिक कार्य सम्पन्न हुने वा उक्त कार्यको योजना बनाउने दिन हो । आज चिल्लोचापिल्लो र चटपटे खानेकुराप्रति रुचि जागृत हुनेछ । रिजल्टको प्रतीक्षामा हुनुहुन्छ भने आशाअनुरूप परिणाम प्राप्त हुनेछ । आशावादी बनेर लक्ष्यप्रति केन्द्रित भएमा हाँके/ताकेका काम पूरा गर्न सजिलो हुनेछ । ज्ञान र अनुभूतिमा बृद्धि हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
क्षमता र सीपको सही मूल्याङ्कन हुने समय हो । पेसा, व्यवसाय वा क्यारियरका बारेमा चिन्तन गरी पढाइलाई अघि बढाउनु ठीक हुन्छ । प्रतिष्ठा बढ्ने दिन हो, वंश, कुल र पितृपक्षका विषयमा आकर्षण देखिने छ, कार्यक्षेत्रमा पनि वरिष्ठ कर्मचारी प्रसन्न रहनेछन् । अझ बृद्धबृद्धा वा मान्यजनको सेवाचाकरी गरेमा भाग्यबल बढाउन सकिने छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आफ्ना भित्री कमजोरीलाई खोजीखोजी पन्छाउने दिन हो । रहस्यात्मकतातर्फ रुचि जागृत हुनसक्छ तर गोपनीय विषयवस्तु वा मानसिक उल्झनले तनाव बढ्ने दिन हो । जग्गाजमिन, ढुवानी, निर्माण सामाग्री आदि व्यवसाय छ भने राम्रो हुन्छ । आज कारोबारका अतिरिक्त धार्मिक/पारम्परिक काममा पनि संलग्न हुन सक्नुहुन्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
दिकदारी र चिडचिडेपन बढ्ने समय हो । शरीरमा थकान र अस्वस्थता देखिए पनि कामबाट फुत्कने र आराम गर्ने अनुकूलता मिल्दैन, तर मनले नमानेको कामकुराबाट टाढा नै रहेको जाती हुन्छ । असहजता बीचमा कामको चाप बढ्ने दिन हो, स्वभावगत कमजोरी वा उदार मनोवृत्तिको प्रयोग गरी अरुले नाजायज फाइदा उठाउन सक्छन् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
भावनामा वहने समय छ, बिर्सने बानीले पनि कतिपय काममा बिलम्ब हुनसक्छ, कामप्रतिको लगावमा कमी आउनाले वरिष्ठ कर्मचारी रिसाउन सक्छन् । घुमघाममा निस्कने वा एकान्तमा बसेर रमाउन पाइने सुन्दर दिन छ, लवमेटको खोजीमा हुनुहुन्छ भने नयाँ प्रस्ताव आउने छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
खेलकुद, उपहार सामाग्री, स्वास्थ्य र सरसफाइको व्यवसायमा राम्रै देखिन्छ, तर सँगीसाथी र साझेदारको क्रियाकलाप चित्तबुझ्दो नलाग्न सक्छ । कटुशब्दको प्रयोग र अर्काको आलोचना गर्ने बानी छ भने मुखमा लगाम लगाउनु राम्रो हुन्छ, नत्र कलह र झैझगडामा संलग्न हुनुपर्ने परिस्थिति छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सानो प्रयत्नले हैसियतमा बृद्धि हुनेछ, क्षमता र बुद्धिको उपयोग गर्दा कारोबारले गति समात्न थाल्नेछ, साथै अड्किएका काम पनि पुनः प्रारम्भ हुनेछन् । पारिवारिक वातावरण सुखमय रहनुका साथै पतिपत्नीका बीचमा राम्रो समझदारी कायम हुनेछ । छोराछोरीको खुसीका निमित्त केही काम लुकाएर गर्नुपर्ने हुन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आत्मविश्वासमा बृद्धि हुनेछ तर कामको चाप बढ्ने समय हो, तथापि साथीभाइको सहयोग लिएर काम गरेमा सबै काम पूरा गर्न सकिने छ । भेटघाट र कुराकानीका निमित्त समय र स्थान छनौट गर्न निकै गोपनीयता अपनाउनु होला, किनभने आज चियोचर्चो गर्नेले तनावमा बृद्धि गर्नेछन् ।
