• २०८३ बैशाख ८ गते मङ्गलवार

राष्ट्रपति पौडेलद्वारा हरितालिका (तीज) को सुखद् अवसरमा शुभकामना व्यक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

असोज १, काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले हरितालिका (तीज) पर्व नेपाली महिलाहरूले एक सनातन सांस्कृतिक पर्वको रूपमा मनाउने र यस पर्वले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको उल्लेख गरेका छन् । उनले नेपाली महिलाहरूको महान् चाड तीजको सुखद अवसरमा सबै नेपाली दिदिबहिनीहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै समस्त नारी जाति प्रकृति र सृष्टिका दृष्टिले उच्च स्थानमा पर्ने उल्लेख गरेका छन् ।

राष्ट्रपति पौडेलले तीजले नेपाली महिलालाई समाजमा विद्यमान लैङ्गिक विभेद¸ जातीय विभेदलगायत सबै प्रकारका असमानताको अन्त्य गर्दै समतामूलक समाजको निर्माणतर्फ अग्रसर हुन उत्प्रेरित गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन् । समाजमा भ्रातृत्व, सदाचार, एकता र सामाजिक सद्‍भाव कायम गर्न यस पर्वले महत्वपूर्ण भूमिका निभाएको उल्लेख गर्दै उनले परापूर्व कालदेखि चलिआएको रीतिरिवाज, रहनसहन र धार्मिक सहिष्णुताको प्रतिविम्बको रूपमा यो चाड मनाउँदै आइरहेको आफूले महसुस गरेको बताए ।

राष्ट्रपति पौडेलले तीजले सबैमा खुसी र मनोरञ्जन साटासाट गरेर देशका हरेक सार्वजनिक क्षेत्रमा महिलाको समान पहुँचलाई अझ सशक्त रूपमा अघि बढाउन सहयोग पुगोस् भन्ने कामना गर्दै शुभकामना व्यक्त गरेका छन् । उनले हरितालिका तीजको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्त्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा देखिने गरेको भड्किलोपन र खर्चिलोपनलाई हटाउँदै जानु आवश्यक रहेको शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

हरितालिका (तीज), २०८० को शुभकामना सन्देश

नेपाली महिलाहरूको महान् चाड हरितालिका (तीज) को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

हरितालिका तीजलाई नेपाली महिलाहरूले एक सनातन सांस्कृतिक पर्वको रूपमा मनाउने गर्दछन् ।  यस पर्वले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको छ । समाजमा भ्रातृत्व, सदाचार, एकता र सामाजिक सद्‌भाव कायम गर्न यस पर्वले महत्त्वपूर्ण भूमिका निभाएको छ । परापूर्व कालदेखि चलिआएको रीतिरिवाज, रहनसहन र धार्मिक सहिष्णुताको प्रतिविम्बको रुपमा यो चाड मनाउँदै आइरहेको मैले महसुस गरेको छु ।

हरितालिका तीजले नेपाली महिलाहरूलाई समाजमा विद्यमान लैंगिक विभेद¸ जातीय विभेद  लगायत सबै प्रकारका असमानताहरूको अन्त्य गर्दै समतामूलक समाजको निर्माणतर्फ अग्रसर हुन उत्प्रेरित गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु ।

समस्त नारी जाति प्रकृति र सृष्टिका दृष्टिले उच्च स्थानमा पर्दछन् । आदर्शमय सामाजिक वातावरण जीवन्त राख्‍न, सदाचारयुक्त जीवन शैली अपनाउन तथा देशको कला संस्कृतिलाई जगेर्ना गर्दै आगामी पुस्तालाई हस्तान्तरण गर्न  यस्ता मौलिक चाडको गरिमालाई सम्मानजनक बनाई राख्‍नु अति आवश्यक छ । साथै, हरितालिका तीजको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्त्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा देखिने गरेको भड्‌किलोपन र खर्चिलोपनलाई हटाउँदै जानु अति आवश्यक रहेको छ ।

अन्तमा, हरितालिका (तीज) पर्वले हामी सबैमा खुसी र मनोरञ्जन साटासाट गरेर देशका हरेक सार्वजनिक क्षेत्रमा महिलाहरूको समान पहुँचलाई अझ सशक्त रूपमा अघि बढाउन सहयोग पुगोस् भन्‍ने कामना गर्दै पुन: हरितालिका (तीज) पर्वको शुभकामना प्रकट गर्दछु ।

जय नेपाल ।

२०८० असोज १ गते सोमबार ।

Sharing

प्रतिक्रिया दिनुहोस