फागुन ६, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले नामिबियामाथि लगातार दोस्रो जित निकालेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शनिबार ३ विकेटको जित निकाल्दै नेपालले नामिबियामाथि लगातार दोस्रो जित निकालेको हो ।

घरेलु मैदानमा जारी सिरिजमा नेपालको यो लगातार तेस्रो जित हो । सिरिजको पहिलो खेलमा नेपालले नामिबियालाई २ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई ३ विकेटले हराएको थियो । नामिबियाले दिएको २ सय ७५ रनको लक्ष्य नेपालले ४७ ओभर ३ बलमा ७ विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा आसिफ शेख, ज्ञानेन्द्र मल्ल र कुशल मल्लले अर्धशतकीय इनिङ खेले । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा ६ विकेट गुमाएर २ रन ७४ रन बनाएको थियो । नामिबियाका लागि जान ग्रिनले ६३ बलमा ७५ रनको अर्धशतकीय ईनिङ खेलेका थिए । उनले ११ चौका र १ छक्का प्रहार गरेका थिए । पीकी या फ्रान्सले ४९ रन बनाए । रुबेन ट्रम्पेलम्यानले अविजित २४ रन बनाए । लो-हान्ड्रे लौरेन्सले ४१ तथा माईकल भान २२ रनमा आउट हुँदा कार्ल ब्रिकस्टकले २० रन बनाए । कप्तान ग्रेर्हाड इरास्मस र जान निकोलले समान १५/१५ रन बनाए । नामिबियाले अन्तिम ५ ओभरमा ८४ रन बनाएको थियो ।
नेपालका सन्दीप लामिछानेले १० ओभरमा ४६ रन खर्चिएर ३ विकेट लिए । यससँगै विश्वकप लिग टूमा सन्दीप लामिछानेले ५० विकेट पूरा गरेका छन् । ५० विकेट पूरा गर्ने उनी समग्रमा तेस्रो तथा नेपालका पहिलो खेलाडी हुन् । करण केसीले १ विकेट लिए । यस जितसँगै नेपालले २७ खेलमा २४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ । नामिबिया ३३ खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।