आज वि.सं. २०८० भाद्र २७ गते बुधवार तदनुसार ई. सं. २०२३ सेप्टेम्बर १३ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४५, चन्द्रास्त : साँझ ०४:३८ बजे र चन्द्रोदय : भोलि बिहान ०४:०० बजे, सूर्योदय : बिहान ०५:४७ बजे र सूर्यास्त : साँझ ०६:११ बजे, भाद्रपद कृष्णपक्ष (गुँलागा) चतुर्दशी तिथि, भोलि बिहान ०४:२१ बजेसम्म, त्यसपछि अमावस्या तिथि, मघा नक्षत्र, मध्यरात्रीपछि ०२:५४ बजेसम्म, त्यसपछि पूर्वाफाल्गुनी नक्षत्र, चन्द्रमा सिंह राशिमा (अहोरात्र व्याप्त)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
व्यक्तित्व विकास र उज्ज्वल भविष्यको कामना राखी काम गर्ने समय हो, प्रयास गरेमा इनसर्भिस अध्ययन वा तालिमको अवसर प्राप्त हुनेछ । इच्छा पूरा हुने दिन हो, लवमेटसित भेटघाट एवं गफगाफ गर्ने मौका जुर्नेछ, त्यस्तै अपेक्षित माया, सहयोग एवं समझदारी कायम हुनेछ । आमा र नातागोताको सम्झना भइरहने समय हो।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सहकार्य वा साझेदारीको काममा दौडधूप गर्नुपर्ने समय हो, कारोबारमा ध्यानकेन्द्रित हुनसक्दैन, तर पनि आर्थिक सन्तुलन कायम रहने दिन हो । दाम्पत्यसम्बन्धमा तालमेलको कमी रहने छ, तर घरको वातावरण व्यवस्थित र रमाइलो नै हुनेछ । कुनै गोपनीय कुरा सार्वजनिक हुँदा अप्ठ्यारोमा परिने छ । कुनै समस्या छ भने अभिभावकसँग प्रष्टसँग राख्ने प्रयास गर्नुहोला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
बन्धुवान्धव र छरछिमेकका काममा सघाउनुपर्ने परिस्थिति छ, त्यस्तै खाँचो परेमा उनीहरूबाट सहयोग लिन पनि सकिने छ । आध्यात्मिक मनोभावको विकास हुनेछ, साथै मन्दिर वा स्मारकको भ्रमणबाट शान्तिको अनुभूति हुनेछ । सहकर्मी र जुनियर स्टाफको काममा अलमलिंदा नियमित काममा बाधा पुग्नेछ, तथापि गरेका क्रियाकलापमा आत्मसन्तुष्टि र प्रसन्नता मिल्ने दिन हो ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
सामान्य भनाभनमा ठूलै झगडापर्ने दिन छ । खासगरी घनिष्ठ साथीभाइ र नातागोताका मानिससित नम्र बोलीको प्रयोग गर्नु राम्रो हुन्छ । दैनिक आम्दानीमा बढोत्तरी हुनेछ, कतिपय विषयमा बोलीकै भरमा काम सम्पादन हुनेछ, साथै हाकिम र सेवाग्राही दुवै पक्ष प्रसन्न रहनेछन् । एउटा स्मरणीय आनन्द प्राप्त हुने दिन हो, अझ बोली र व्यवहारमा नम्रताको प्रयोग गर्नुहोस्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
अवसरको खोजी गर्ने दिन हो, अझ प्रतिष्ठित शैक्षिक संस्थान वा विदेशमा उच्च शिक्षा हासिल गर्न प्रयास गर्ने समय छ । इच्छाशक्ति बढ्नेछ भने मानसम्मान र प्रतिष्ठा बढाउन गरिएको काममा सफल भइने छ, दायित्व र जिम्मेबारीको बोध गर्नुका साथै आफ्नो कर्तव्यनिर्वाहप्रति सचेत हुने समय हो । नयाँ जिम्मेबारी वा पदभार ग्रहण गर्ने दिन हो ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
अवसर प्राप्तिका निमित्त दौडधूप र परिश्रम गर्नुपर्ने समय हो, तर आफ्ना भावनालाई नियन्त्रणमा राखी व्यवहार गर्नु समुचित हुन्छ, नत्र यसबाट अरुलाई मात्र होइन, आफू स्वयंलाई समेत हानी पुग्नसक्छ । पुरानो समस्या सुल्झाउने क्रममा दिन बित्नसक्छ, लाभमूलक काममा कार्यालयबाहिरको काममा पनि खट्न सकिने छ । तर कर्तव्य र जिम्मेबारीप्रति सचेत हुनुपर्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
कारोबारमा राम्रै फड्को मार्ने समय छ, लागी परेमा रोकिएको काम बन्नेछ तर दायित्व र जिम्मेवारी भने बढिरहने समय हो । चाहेबमोजिम सबै कामहरू सम्पन्न हुनेछन्, पारिवारिक माहौल पनि ठीकै छ, तथापि अहङ्कार र घमण्डलाई कन्ट्रोल गर्ने समय हो । परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ता छ भने प्रतियोगी बलिया छन् ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
कर्मको प्रतिफल हात पार्ने तथा पदासीन व्यक्तित्वसँग निकटता बढ्ने दिन हो, लगनशील भएमा पुरस्कार र बढुवा पाउन सकिने छ । परिबन्द र बाध्यतामा अलमलिनु पर्ने समय छ, तर पनि आपसी समन्वय र तालमेल कायम रहने दिन हो । पेसागत र व्यवसायिक जीवन सन्तोषजनक रहनेछ । सानोतिनो यात्राको योजना बन्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
मन हलुका र चङ्गा हुने दिन हो, आज लवमेटका तर्फबाट कुनै सुन्दर उपहार प्राप्त हुनेछ, जुन तपाईंको प्रेमसम्बन्धको दीगो प्रतीक बन्नसक्छ । कला वा सिर्जनासँग सम्बन्धित कामबाट प्रतिष्ठा र सम्मान पाउने दिन हो, धर्म र अध्यात्मतर्फ पनि मनको आकर्षण रहनेछ । जनसम्पर्क, सार्वजनिक सम्बन्ध वा नेटवर्किङका माध्यमबाट आयस्रोतमा बढोत्तरी हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
झिनामसिना काम र घरेलु काममा अलमलिंदै दिन बित्नसक्छ, तर भान्साको काममा वा आगो र हातहतियारको प्रयोगमा निकै सचेतता अपनाउनु होला । तन्त्रमन्त्र, साधना एवं कुनै रहस्यात्मक विषयमा रुचि बढ्न सक्छ । आज कडा मिहिनेत गरी नसुल्झिएको समस्यालाई हल गर्न सक्नुहुन्छ । जोखिम र सङ्कटले भरिपूर्ण समय हो, यस अवधिमा नैराश्यता, दिकदारी र चिडचिडेपन बढ्नसक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
दाम्पत्य जीवनको भरपूर सुख भोग गर्न पाइने छ । गीतसङ्गीत, साहित्य वा कुनै कलासम्बद्ध विषयमा रुचि जाग्ने दिन हो । रमणीयता र भावुकतामा भुलिने हुँदा कुनै महत्त्वपूर्ण पाठमा कमजोरी र कसर देखिने डर छ, त्यसैले लक्ष्य प्राप्त गर्न कडा मिहिनेत गर्नुपर्छ । व्यक्तित्वमा निखार आउने छ, धेरैको मन लोभ्याउन सकिने र प्रेमिल भावना विकसित हुने दिन हो ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
अर्काका कुरा सुनेर पार्टनरको जीवनचर्या र व्यवहारमा शङ्का नगर्नु होला, बरु लोङ टुरको कुनै कार्यक्रममा सँगै जाने वातावरण बनाउनु ठीक हुन्छ । घरपरिवारबाट शुभ समाचार प्राप्त हुनेछ । प्रतिस्पर्द्धा, खेल र तर्कमा सहभागी हुने दिन हो, झैझगडा, विवाद र प्रतियोगितामा पनि जीत हुनेछ ।