साउन २८, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज-आइबार_ कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिका धेरै थानमा अतिवृष्टि हुने सम्भावना रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा पोखरा, वीरेन्द्रनगर,काठमाडांैलगायत मधेश प्रदेशमा भारी वर्षा भएको जनाएको छ । विभागले मनसुनको न्यूनचापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिकै सरेकाले दिउँसो देखि भोलिसम्म अझै धेरै पानी पर्ने अनुमान गरेको हो ।हाल देशभर सामान्य देखि पुर्ण बदली रहेको छभने कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो देशभर मौसम पूर्ण बदली रहनेछ भने देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै,साथै मधेश प्रदेशको एक–दुई स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेकोले महाशाखाले सर्तकता अपनाउन आग्रह गरेको छ ।
राति देशभर मौसम सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको प्रक्षेपण महाशाखाले गरेको छ ।
पछिल्लो २४ घण्टामा कास्कीमा अति भारी वर्षा भएको महाशाखाले जनाएको छ । कास्कीको पोखरामा मात्रै १२२ दशमलव ७ मिलिमिटर वर्षा मापन भएको छ । त्यसपछि जनकपुरमा ७७ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । यस्तै,विरेन्द्रनगरमा ७५ दशमलव ८, काठमाडौमा ४९ दशमलव ९,ओखलढुंगामा ३६ दशमलव २ तथा नेपालगञ्जमा २७ दशमलव ३ मिलिमिटर वर्षा मापन गरिएको छ ।
उक्त क्षेत्र भएर बग्ने ठूला नदी तथा खोलामा जल सतह उच्च हुने हुँदा बाढी,पहिरो र डुवानबाट जोगिन महाशाखाले सबैलाई उच्च सर्तकता अपनाउँन भनेको छ । साथै,सडक मार्गको प्रयोग गर्दा पूर्व सूचना लिएर मात्रै यात्रा गर्न पनि आग्रह गरेको छ ।