जेठ ३०, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन माओवादी नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा चलाएर कारबाही गर्न माग गरिएको रिट न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ ।

पूर्वबाल लडाकु लेलिन विष्टसमेतले दिएको रिट निवेदनलाई आइतबार सर्वाेच्च अदालतले दर्ता गरेको थियाे । गत शुक्रबार रिट निवेदनलाई दरपिठ गर्ने आफ्नै प्रशासनको निर्णय खारेज गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले रिट दर्ता गर्न आदेश दिएको थियो ।
नाबालकलाई तत्कालीन माओवादीले बालसेनाको रुपमा प्रयोग गरेर युद्धअपराध गरेको दाबी गर्दै रिट निवेदनमा उनीहरुविरुद्ध युद्ध अपराधको मुद्दा दर्ता गरी कारबाही गर्नुपर्ने माग गरिएको छ । साथै प्रधानमन्त्रीबाट प्रचण्डलाई निलम्बन गरिनुपर्ने माग गरिएको छ ।